बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान संचालन गर्ने

हेटौंडा टुडे
२०८० श्रावण १७, बुधबार १०:४९ गते

हेटौडा । बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान संचालन गर्ने भएको छ । प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रदेशमा लम्पी स्कीन रोगको बढ्दो संक्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि सप्ताहव्यापी खोप अभियान संचालन गर्ने भएको हो ।

मन्त्रालयले यही साउन २५ गतेदेखि ३१ गतेसम्म प्रदेशको सबै जिल्लामा एकैपटक खोप अभियान संचालन गर्ने तयारी गरिएको मन्त्रालयकी पशु चिकित्सक डा। सृजा वाग्लेले जानकारी दिइन् ।उनका अनुसार, खोप अभियान संचालनका लागि मन्त्रालयले तालिका नै बनाएर काम गरिरहेको छ । जसअनुसार, मन्त्रालयले खोप अभियान संचालनका लागि भ्याक्सिनेटर नियुक्तिको लागि ७ दिने सूचना प्रकाशन गरी सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले साउन २० गतेभित्र भ्याक्सिनेटर छनौट तथा नियुक्ति गरिसक्ने कार्यतालिका बनाएको छ ।

त्यस्तै, मन्त्रालयले साउन २० मा प्रदेश दुग्ध विकास बोर्ड मार्फत् दुग्ध क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरुसँग खोप अभियान सम्बन्धी समन्वय बैठक संचालन गर्ने, साउन २२ गतेभित्र सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोप खरिद तथा भण्डारण तथा प्रचार प्रसार सामग्री तयार पारेर प्रसारण गर्ने र मन्त्रालयले खोप कार्ड, खोप अभियान लोगो, खोप अभिलेख फारम, पम्पलेट तथा ब्रोसर छपाई र वितरण गर्ने कार्यसूची बनाएको छ ।

यसैगरी, साउन २३ मा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भ्याक्सिनेटर तथा स्थानीय तहहरुलाई अभिमुखीकरण, खोप तथा लजिष्टिक सामाग्री वितरण गर्ने, साउन २४ गते मन्त्रालयले पत्रकार सम्मेलन गर्ने कार्यतालिका रहेको छ भने साउन २५ गते मन्त्रालयले रोगविरुद्ध खोप अभियानको औपचारिक उदघाटन गर्ने र सो कार्यलाई ३१ गतेसम्म निरन्तरता दिइने मन्त्रालयकी पशु चिकित्सक डा। वाग्लेले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*