हेटौडा । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ४२१ पुगेको छ । जिल्लामा सोमबार थप ३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ४२१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका एक जना र बागमती गाउँपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ २८१ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका ११ जना, बागमती गाउँपालिकाका २१ जना, मनहरी गाउँपालिकाका ३३ जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका १० जना, बकैया गाउँपालिकाका १४ जना र राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।