भारतले प्याज निर्यातमा प्रतिबन्धको घोषणा

हेटौंडा टुडे
२०८० मंसिर २२, शुक्रबार १३:०४ गते

हेटौडा । भारतले प्याज निर्यातमा प्रतिबन्धको घोषणा गरेको छ।भारतको वाणिज्य विभागले मंसीर २१ मा सूचना जारी गर्दै प्याज निर्यात रोक्ने जनाएको हो। शुक्रबारबाटै यो कार्यान्वयनमा आएको छ।

प्याज निर्यातमा प्रतिबन्ध झण्डै चार महीना कायम हुनेछ। आगामी मार्च महीनाको अन्तिममा मात्रै प्याज निर्यातमा लगाइएको प्रतिबन्धमा पुनर्विचार हुने विभागले जनाएको छ।भारत सरकारले घरेलु माग पूरा गर्न र आन्तरिक बजारमा प्याजको मूल्य कम गर्न यस्तो कदम उठाएको अनुमान गरिएको छ। यद्यपि, भारतले अन्य मुलुकको सरकारको आग्रहबमोजिम कोटा तोकेर प्याज निर्यातको सुविधा दिन सकिने सूचनामा जनाएको छ।

यसअघि गत भदौमा प्याज निर्यातलाई निरुत्साहन गर्न निर्यातमा ४० प्रतिशत भन्सार शुल्कको घोषणा गरेको थियो। प्याजको मूल्य निरन्तर बढ्दै गएपछि शुल्क लगाइएको थियो।भारतको प्याज निर्यातमा प्रतिबन्धको घोषणाले नेपाली बजारमा प्याजको उपलब्धतामा असर पर्ने अनुमान गरिएको छ। नेपाल प्याजमा ठूलो मात्रामा भारत निर्भर छ। भारतमा प्याजको निर्यातमा प्रतिबन्धसँगै नेपाली बजारमा प्याजको मूल्य थप आकाशिन सक्ने जनाएको छ।

नेपालमा प्याजको बेर्ना सार्ने समय भर्खरै शुरू भएको छ। स्थानीय किसानले उत्पादन गरेको नयाँ प्याज बजारमा आउन अझै केही महीना कुर्नुपर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*