मकवानपुरमा दादुरा रुबेला खोप अभियान सन्दर्भमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
१० फाल्गुन २०८०, बिहीबार १५:१५

हेटौडा । मकवानपुरमा दादुरा रुबेला खोप अभियान अन्र्तगत  बुधबार सञ्चारकर्मीहरुसँग प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लक्षित उमेरका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगहरुबाट संक्रमण हुनसक्ने सम्भावनाहरुलाई न्युनीकरण गर्ने लक्ष्यका साथ मकवानपुरमा खोप अभियान सुरु हुने भएको हो । आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

अभियान अवधिमा मकवानपुरभित्र ५ सय २० वटा खोप केन्द्रमार्फत करिब ३२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउनको लागि अभियान सुरु गर्न लागिएको मिजारले बताए । अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ  ।  बुधबार  पत्रकार सम्मेलन गर्दै जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य कार्यालय मकवानपुरले जिल्लामा तीनसय ४० जना स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने बताए ।

सन् २०२६ सम्म दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिवद्धता रहेकोमा नियमित दादुरा रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको बताइएको छ । सरकारले २०७६/ ७७ मा चलाएको अभियानपछि गरिएको सर्वेक्षणबाट दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत मात्र देखिएको थियो ।

नेपालभर गत आर्थिक वर्षमा एक हजार तीन सय ५० जनामा दादुरा रुबेला रोग देखिएको थियो । त्यसमध्ये मकवानपुरमा ४० जना संक्रमित भेटिएका थिए । दादुरा रुबेला संक्रमित मध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्ष उमेर समूहको रहेको बताइएको छ । मकवानपुर जिल्लामा नियमित खोप कार्यान्वयनमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका उत्कृष्ट रहेको स्वास्थ्य कार्यालयले विश्लेषण गरेको छ । बागमती प्रदेशमा नुवाकोटबाहेक सबै जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ ।

 

दादुरा रुबेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्युमोनियमा हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले नियमित खोप लगाउनुका साथै छुटेका ५ वर्षमुनिका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*