आज छठ पर्वको मुख्य दिन

हेटौंडा टुडे
२२ कार्तिक २०८१, बिहीबार ०९:५९

हेटौडा । आज छठ पर्वको मुख्य दिन । आज बिहीबार षष्ठी तिथिको दिन व्रतालुले नदि, पोखरी आदि जलाशयका किनारमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बस्दछन् । भोलिपल्ट बिहान उदाउँदै गरेको सूर्यको पूजा गरि अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थी तिथि (गत मंगलबार) देखि शुरु भएको हो । सूर्यको पूजा तथा व्रत–उपासना गरेमा सन्तान तथा परिवारको सुख, समृद्धि र मनोकामना पूर्ण हुने विश्वास रहेको छ ।

बुधबार पञ्चमी तिथिको दिन खरना मनाइयो । दिनभर निर्जल व्रत बस्नेहरुले साँझपख खिर पकाएर देवीदेवतालाई चढाएपछि प्रसादका रुपमा खाने गर्दछन् र परिवारका अन्य सदस्यहरुलाई पनि बाँड्ने विधिलाईनै खरना भनिएको हो । यसपछि व्रताललेु सप्तमी तिथिको बिहानसम्म अर्थात् शुक्रबार बिहानसम्म व्रत बस्नुपर्ने हुन्छ । आज षष्ठी तिथिको दिन भने नदि वा पोखरीको किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ ।

यसको भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा सूर्यलाई चढाइने ठेकुवा, भुसुवा, केरा, उखु, नरिवल, मिठाइ, पान, सुपारीआदि विशेष प्रसाद हुन् । यी प्रसादलाई माटोका नयाँ भाँडा तथा बाँसको टोकरीमा राखेर चढाउने प्रचलन छ ।

आज तराई मधेशका जिल्लाहरुका साथै काठमाडौं उपत्यका संगै हेटौडाको राप्ति बगरमा पनि छठको रौनक छ । राप्ति बगरमा सफा पारेर सजाइएको छ भने सुरक्षा व्यवस्था मिलाइएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*