
अहिलेको समयमा धेरैजसो मानिसलाई ढाड, घुँडा दुख्ने समस्या भएको पाइन्छ । जीवनको कुनै पनि समयमा ढाड दुखेको पीडा अनुभव नगर्ने कमै मानिस होलान्। घुँडा दुख्ने विभिन्न कारण हुन्छन् । त्यसमध्ये उमेरका कारण हड्डी खिइँदा (ओस्टियोआर्थराइटिस) दुख्ने हुन्छ, जसका लागि औषधि खाने, अभ्यास तथा थेरापीहरु गर्ने, जीवनशैली परिवर्तन गरेर निको पार्ने प्रयास गरिन्छ । धेरैजसो अवस्थामा यो ठीक पनि हुन्छ । तर, कहिलेकहीँ घुँडाको दुखाइ यति जटिल भइदिन्छ कि बिरामीले शारीरिक अभ्यास नै गर्न सक्दैनन् अथवा औषधि पनि साइडइफेक्टका कारण प्रयोग गर्न सक्दैनन् । कति बिरामीको त विभिन्न जोखिमका कारण घुँडाको शल्यक्रिया नै गर्न नमिल्ने अवस्था हुन्छ।
दीर्घकालीन दुखाइ आफैँमा एउटा रोग हो । जबसम्म दुखाइको समाधान हुँदैन, यसले भौतिकरुपमा मात्र नभएर मानसिक र अरु धेरै किसिमका जटिलता निम्त्याउन सक्छ । र, दुखाइ दीर्घकालीन र जटिल हुँदै गएको छ भने यो आफैँमा रोग पनि हो । तर, यसको उपचार सम्भव हुन्छ । विभिन्न परीक्षण विधिबाट रोग पत्ता लगाएर इन्जेक्सनमार्फत् उपचार गरे निको हुन्छ । यही तथ्यलाई मनन गरेर ढाड दुख्ने समस्याबारे हामी सबैले केही कुरा अवश्य पनि बुझ्नुपर्छ।
उपचारमा केन्द्रित हुनुअघि के कारण र कुन उमेरका मानिसमा ढाड दुखेको हो भन्ने स्पष्ट हुनुपर्छ। केटाकेटीमा सामान्यतया ढाड दुख्ने समस्या ज्यादै न्युन हुन्छ। केटाकेटीमा ढाड दुख्ने समस्या देखिए गम्भीर रूपमा लिनुपर्छ।जस्तो अग्लो ठाउँबाट लडेर ढाडको हड्डी भाँच्चिएको हुनसक्छ। हड्डीको ट्युमर, संक्रमण (जस्तै– क्षयरोग), बाथ अथवा जन्मजात ढाड बांगो भएका कारणले पनि ढाड दुख्ने समस्या आउन सक्छ। त्यसकारण बिरामीलाई राम्रोसँग जाँचेर कारण पत्ता लगाई उचित परामर्श दिनुपर्छ।
जवान तथा बुढ्यौलीमा प्रवेश गर्नलागेका मानिसमा ढाड दुख्ने समस्याका कारण धेरै छन्। यो उमेरका मानिस दैनिक जीवनमा कामकाजमा बढी ब्यस्त हुने भएकाले मेरुदण्डको हड्डीमा प्रत्यक्ष रूपमा बढी भार पर्छ। विशेषगरी झुकेर वा निहुरेर काम गर्ने, ज्यादा समय कुर्सीमा बसेर काम गर्ने, लामो समयसम्म मोटरबाइक चलाउने, घरभित्रै बसेर काम गर्ने गृहिणी र शरीरको तौल बढी भएका मानिसमा मेरुदण्डका हड्डीहरू बीचको जोर्नीमा अत्यधिक बल पर्ने हुनाले यी जोर्नीहरू विस्तारै खिइन थाल्छन्।
हड्डी खिइन सुरु भएपछि ढाडको जोर्नी र त्यसको वरिपरि टाँसिएर रहेका लिगामेन्ट्स र मासुका रेसाहरूमा इन्फ्लामेसन भई दुखाइ महसुस हुन थाल्छ। सुरु—सुरुमा ढाडमा असजिलो महसुस हुने, ढाड कडा हुने, रातमा निदाएपछि ओल्टे–कोल्टे फर्किंदा असजिलो हुने हुन्छ।त्यस्तै बिहान उठ्ने बित्तिकै आधा घन्टाजति ढाड अप्ठ्यारो अथवा जाम भएको महसुस हुने, निहुरेर—झुकेर काम गर्दा ढाडमा ज्यादा पीडा हुने हुन्छ। दुखाइको प्रकृति हेर्दा धेरैजसो दुखाइ कम्मरमा हुन्छ। कहिलेकाहीं दायाँ अथवा बायाँ बटक्स, थाइको भाग र मृगौला रहने ठाउँमा पनि दुखाइ हुनसक्छ। त्यसकारण बिरामीले कहिलेकाहीं आफूलाई मृगौलामा पत्थरी भएको महसुस गरी भिडिओ एक्सरे गराइदिन अनुरोध गर्छन्। माथि उल्लेख गरिएका समस्या धेरैजसो अवस्थामा ढाडको हड्डी खिएकै कारणले हुन्छ।
कहिलेकाहीं बिरामीहरू सामान्य ढाड दुखेको समस्याले आफूलाई भविष्यमा क्यान्सर हुने अथवा नसा च्यापिएर पारालाइसिससम्म हुनसक्ने जस्ता नकारात्मक काल्पनिक कुरा धेरै सोचेर शारीरिक पीडाका साथसाथै मानसिक पीडामा पर्न सक्छन्। यो मनोवैज्ञानिक तथ्यलाई पनि राम्रोसँग सम्बोधन गरिनुपर्छ।
यिनै कुरालाइ ध्यानमा राखेर चिकित्सकले आवश्यक जाँच जस्तै– एक्सरे, रगत, पिसाब, भिडियो एक्सरे, एमआरआई (आवश्यक परे) लगायत गरेर ढाड दुख्ने कारण पत्ता लगाउनुपर्छ। यी जाँचमध्ये कुनै एकमात्र गरेर पनि रोग पत्ता लगाउन सकिन्छ।
तर धेरैजसो बिरामीलाई ढाड दुख्ने मुख्य कारणचाहिँ मेरुदण्डको हड्डी खिइनु नै हो। यस्ता बिरामीले सुरुको एक—दुई हप्ता एन्टिइन्फ्लामेटरी औषधी सेवन गर्नुका साथै झुक्ने, निहुरिने र गह्रौं सामान उचाल्ने गर्नु हुँदैन। मनतातो पानी वाटरब्यागमा राखेर ढाडमा सेकाउँदा केही हदसम्म ढाडलाई आराम मिल्छ।
दुखाइको मात्रा बढी भए मेसिनको मद्दतले ढाडलाई सेकाउँदा कम हुन्छ।त्यसैगरी बिरामिले बिहानको समयमा नियमित कसरत गर्नु धेरै राम्रो हुन्छ ।

