शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसार भव्य रूपमा मनाइँदै

हेटौंडा टुडे
१६ फाल्गुन २०८१, शुक्रबार ११:४१

 हेटौंडा । शेर्पा समुदायले प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रमका साथ मनाइँदै छन। नयाँ वर्षको रूपमा विशेष महत्व राख्ने यो पर्व शेर्पा समुदायका साथै अन्य हिमाली मूलका जातिहरूद्वारा हर्षोल्लासका साथ मनाइन्छ। संस्कृति, परम्परा र मान्यताहरूलाई अनुसरण गर्दै मनाइने ग्याल्पो ल्होसार लगायतका चाड पर्वहरूले पारिवारिक माया, सामाजिक सद्‌भाव एवम् एकता कायम राख्ने गर्दछ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको बताउँदै उनले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक साँस्कृतिक ऐक्यवद्धता, सहिष्णुता, सद्‌भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने तथा यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्दछ।  यस वर्ष शेर्पा समुदायले २१५२ औँ ग्याल्पो ल्होसार मनाउँदैछन्। तिब्बती क्यालेन्डरअनुसार मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसार विभाजित छ। हरेक वर्ष यी १२ वर्गमध्ये एउटा वर्गको पालो आउँछ, जसले नयाँ वर्षको संकेत गर्छ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रमका साथ मनाइन्छ। पर्वका अवसरमा शेर्पा समुदायले घरआँगन सफा गर्ने, विशेष परिकारहरू पकाउने, परिवारजन तथा आफन्तसँग भेटघाट गर्ने, धार्मिक क्रियाकलापहरूमा संलग्न हुने, परम्परागत पोशाकमा सजिएर सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, र लामाहरूको आशीर्वाद लिने परम्परा छ।

यस पर्वमा विशेष रूपमा च्याङ (स्थानीय मदिरा), खाप्से (विशेष प्रकारको पकवान), रङ्गीन झन्डा (लुङ्दार) फहराउने, तथा लामा गुठीमा पूजा गर्ने गरिन्छ। विभिन्न गुम्बाहरूमा भव्य पूजा आयोजना गरिन्छ, जहाँ लामाहरूले शान्ति, समृद्धि र सुखद नयाँ वर्षको कामना गर्दै प्रवचन दिन्छन्।

यसअघि, पुस १५ गते गुरूङ समुदायले तमु ल्होसार, तथा माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार मनाइसकेका छन्। यी तीन प्रमुख ल्होसारमध्ये ग्याल्पो ल्होसार शेर्पा समुदायका लागि सबैभन्दा ठूलो चाड हो। नयाँ वर्षको आगमनको उल्लासमा शेर्पा समुदायले परम्परागत संस्कृति झल्काउने विशेष कार्यक्रमहरू आयोजना गरिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*