देशभर बढ्यो गर्मी, यो पटक गर्मी धेरै हुन सक्ने अनुमान

हेटौंडा टुडे
२०८२ बैशाख १०, बुधबार १२:२२ गते

हेटौंडा । केहि दिनयता देशभर गर्मी बढ्न थालेको छ। वैशाख सुरू भए सगैं तापक्रम निकै बढेकाले यो वर्ष गर्मी धेरै हुन सक्ने अनुमान गरिएको छ। मौसमविदहरुका अनुसार तत्काल पानी पर्ने सम्भावना निकै कम रहेकाले तातो हावाको लहर चल्न सक्ने अवस्था छ। यस्तोमा सतर्कता अपनाउन उनीहरुले सुझाएका छन्।

किन चल्छ तातो हावा ?
सूर्य उत्तरायण भएपछि उत्तरी गोलाद्र्धमा तापक्रम बढ्न थाल्छ । यसरी बढ्न थालेको तापक्रम जबसम्म मनसुन सुरु हुँदैन तबसम्म गर्मी बढ्ने गर्दछ। मनसुन सुरु नभएसम्म निरन्तर तापक्रम बढ्ने हुन्छ । स्थानीय वायुको प्रभावका कारण वर्षा हुने सम्भावना रहन्छ । तर, जुन ठाउँमा स्थानीय वायुको प्रभाव परेको हुन्छ । त्यसले बादल बनाउन नसक्ने र वर्षा गराउन नसक्दा तापक्रम बढ्दै जान्छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन। नयाँ मौसमी प्रणाली नभएको र पश्चिमी वायु तथा स्थानीय वायुको पनि आंशिक प्रभाव मात्र रहेकाले तापक्रम अझै बढ्ने देखिएको छ। आज बुधबार सबैभन्दा बढी तापक्रम भैरहवामा ४३ डिग्रीसम्म पुग्नसक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सबैभन्दा कम तापक्रम आज राति जुम्लामा ६ डिग्रीसम्म पुग्ने अनुमान छ।

मंगलबार लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई वटा मौसम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रेकर्ड भएको थियो।यसैगरी मधेश प्रदेशका पश्चिमी भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरुमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस आसपास रेकर्ड भएको थियो।

तातो हावाका सम्भावित असर 
तातो हावाको लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी प्यास लाग्ने, टाउको दुख्ने विभागले जनाएको छ । खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भन्दै विभागले सचेत हुन आग्रह गर्दै आएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*