नेपाल पछिल्लो दशकमा बुढ्यौली समाजतर्फ रूपान्तरण हुने अनुमान गरीएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अबको ३० वर्ष अर्थात् २१११ सालसम्ममा नेपाल बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरेको हो। राष्ट्रिय जनगणना २०७८ को विषयगत प्रतिवेदनहरू सार्वजनिक गर्ने क्रममा आज नेपालमा बुढ्यौली अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले यस्तो अनुमान सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार २०७८ सालसम्ममा नेपालमा ६० वर्ष वा त्योभन्दा माथिको सङ्ख्या कुल जनसङ्ख्याको १०. २ प्रतिशत पुगेको छ । यो सङ्ख्या २०६८ सालमा ८ दशमलव १ प्रतिशत(%) थियो । २०४८ सालको जनगणनाको भन्दा २०७८ सालमा ज्येष्ठ नागरिकको सङ्ख्या ३ गुणा बढेको छ । जनसङ्ख्या पिरामिडले युवाबहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जानकारी दिएका हुन।
जन्मदरमा कमी आउँदा बालबालिकाको सङ्ख्या घट्दै गएको छ । यस्तै प्रवासनका कारण काम गर्ने उमेर समूहको जनसङ्ख्या पनि घटिरहेको प्रतिवेदनमा उल्लेख छ । भौगोलिक रूपमा हेर्दा पहाडी क्षेत्रको बुढ्यौली जनसङ्ख्या उल्लेखनीय वृद्धि भएको छ । ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा बुढ्यौली जनसङ्ख्या अनुपात कम छ । प्रतिवेदन अनुसार ६० वर्षसम्म बाँच्ने मानिसको सङ्ख्या कुल जनसङ्ख्याको ८० प्रतिशत पुगेको छ । जसमा महिलाको ८४ दशमलव ७ प्रतिशत र पुरुषको ७५ दशमलव १ प्रतिशत छ । नागरिकको स्वास्थ्य सेवा र शिक्षामा पहुँच बढ्दै गएकाले मृत्युदर र जन्मदर घटेको हो भन्ने भनाइ छ। सन्तान कम जन्माउने क्रम पनि बढ्दै गएको छ। अब राज्यले जनसंख्या नियन्त्रण होइन, व्यवस्थापनको नीति लिनुपर्छ।
बुढ्याली जनसङ्ख्या बढेसँगै एकल वा श्रीमान्–श्रीमती मात्रै बस्ने सङ्ख्या पनि बढ्दो क्रममा रहेको प्रतिवेदनमा भनिएको छ । बुढ्याैली जनसङ्ख्या बढ्दा आवास व्यवस्था, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरणपोषणमा विशेष चुनौती सिर्जना हुने कार्यालयको प्रतिवेदनमा भनिएको छ ।


















