हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सीमानामा पर्ने गैरीगाउँमा जमिन दबिएर गाडी नै गायब भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ। जमिन भासिएर गाडी बेपत्ता भएको पाँचौं दिनमा नारायण अधिकारीको नेतृत्वमा विभागको चार सदस्यीय टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो ।
भुगर्भबिद नारायण अधिकारी, कृष्ण पाण्डे, मणि खनाल सहित ४ जनाको टोलि मंगलबार बिहान घटनास्थल आएर काम थालेको छ। टोलीले घटना स्थलको भु–बनोट भुमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ । खानी तथा भुगर्भ विभागबाट चार जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थाल्ने भुगर्भबिद नारायण अधिकारीले बताएका छन्। घटनास्थलको सतह मुनि माटो बनोट तह तथा भुमिगत जलको विषयमा अध्ययन गर्ने गरि केही उपकरण प्रयोग गरिने जनाइएको छ।
उनले म्याग्नेटो मिटरको आधारमा भुगोलको चुम्बकीय क्षेत्र तथा पदार्थ (एनोमेलिक) को अवस्था डिटेक्क्ट (पत्ता लगाउने) बताएका छन् । गत शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकै फाटमा माछाको दाना लिन हिडेको ना ४ च ४८३३ नम्बरको योद्धा डिआइ गाडी जमिन भासिएर बेपत्ता भएको थियो।
सडकमा गुडिरहेको अवस्थामा एक्कासि अगाडिको पाङ्ग्रा भासिएको र जग लगाएर निकाल्ने प्रयास गर्दै गर्दा ५ सेकेन्डको अन्तरालमा गाडी जमिननै भासिएर जमिनमुनि बेपत्ता भएको थियो। चालक र सहचालक भने हाम फालेर बाच्न सफल भएका थिए।
बाटोमा गुडिरहेको गाडी भासिएर जमिनमुनि हराएको घटनाले धेरैको ध्यान तानेको छ । गाडी हराएको दुई दिनपछि बल्ल हेटौंडा उपमहानगरपालिकामा विपद व्यवस्थापन समितिको बैठक बसेर भूगर्भविदको सहयोग लिने निर्णय भएको थियो । सोही अनुसार भूगर्भविदको टोली हेटौंडा पुगेर अध्ययन थालेको छ ।
















