हेटौंडा । गर्मी मौसममा लामो समयसम्म ताजा राख्नका लागि भनेर मानिसहरूले खानेकुरा फ्रिजमा राख्ने गर्छन् । जाडोमा बाहिर त्यत्तिकै राख्दा केही नहुने चिजहरू प्रायः गर्मीमा भने त्यसै गरी राख्दा ताताेका कारण बिग्रन थाल्छन् । यस्तो अवस्थामा हामी ती वस्तुहरूलाई फ्रिजमा राख्छौँ । केही खानेकुरालाई फ्रिजमा राख्दा खानाको स्वाद, पोषण र गुणस्तरलाई असर गर्ने अनेक कुराहरू हुन्छन् । फ्रिजमा राखेका खानेकुरामा न्युट्रिएट्स कम हुनसक्छन् । त्यसैले फ्रिज बाहिर राख्नु नै राम्रो हुन्छ । यस्ता १० खानेकुरा जसलाई फ्रिज बाहिर राख्नु उत्तम हुन्छ ।
१. केरा- फ्रिजमा केरालाई राख्दा यो कालो हुन्छ अनि यसको बनावट पनि बिग्रन्छ । यति मात्रै होइन । यसले नजिकै राखिएका अन्य फलफूलहरूलाई पनि बिगार्न सक्छ ।
२. गोलभेडा – गोलभेडालाई फ्रिजमा राख्यो भने भित्रको मेम्ब्रेन फुट्छ, गोलभेडा गल्दैजान्छ र चाँडै बिग्रिन्छ ।
३. मह – फ्रिजमा राख्न नहुने मह पनि हो । फ्रिजमा राख्नाले मह गाडा हुने ह्ुन्छ । लामो समयसम्म फ्रिजमा मह राखेमा क्रिस्टल बन्न थाल्छन् ।
४. पाउरोटी- यदि तपाईँले फ्रिजमा पाउरोटी राख्नुभयो भने, यो चाँडै सुक्छ र यसको ताजापन पनि सकिदैं जान्छ । यसले पाउरोटीको स्वाद र बनावटलाई पनि असर गर्छ ।
५. आलु- आलुलाई फ्रिजमा राख्दा यसमा रहेको स्टार्च चिनीमा बदलिन थाल्छ । जसको कारण यसको स्वाद र पोषण प्रभावित हुन्छ । यति मात्रै होइन, चिसोका कारण आलु छिटै बिग्रिन थाल्छ ।
६. स्याउ – स्याउमा पाइने इंजाइम्स सक्रिय भई चाडै पाक्ने तथा बिग्रने हुन्छ । यदि राख्नै पर्ने भयो भने पनि कागजले बेरेर मात्रै फ्रिजमा राख्नुपर्छ ।
७. कफि पाउडर – कफि पाउडरलाई फ्रिजमा राखेमा बास्ना हराउँछ ।
८. प्याज- प्याजलाई फ्रिजमा राख्दा यो चिसो हुन्छ । अनि छिटै कुहिन सक्छ । यसको गन्धले फ्रिजमा राखिएका अन्य वस्तुहरूलाई पनि असर गर्न सक्छ ।
९. हरियो साग–सब्जी – हरिया सागसब्जीलाई फ्रिजमा राखेमा चाँडै पात सुक्ने हुन्छ । र यो एकदमै वेस्वादको बन्न पुग्छ ।
१०. अन्डा – धेरै दिनसम्म अन्डालाई फ्रिजमा कैद गर्नु हुन्न । यसो गर्नाले अन्डामा भएको न्युट्रिएट्स कम हुन्छ ।


















