हेटौंडा । हेटौंडामा रहेको सरकारी अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका चिकित्सकहरूले कमिसनको लोभमा अस्पतालमा आएका बिरामीहरूलाई निजी स्वास्थ्य संस्थामा रेफर गर्ने गरेको पाइएको छ। अस्पतालका अधिकांश चिकित्सकले सरकारी अस्पतालमा चेकजाँच गराउन आएका बिरामीलाई ललाई फकाई बाहिर रहेका निजी क्लिनिकहरुमा पठाउने गरेका छन् । अस्पतालका चिकित्सकले सामान्य उपचार हेटौंडा अस्पतालमा गरेपछि अन्य थप जाँचका लागि निजी अस्पताल तथा क्लिनिकहरुमा बिरामीहरुलाई रेफर गर्ने गर्दछन् । हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा आएपछि सेवा सेवा सुविधा थप र स्वास्थ्य सेवामा गुणस्तर थपिएको भन्दै प्रतिष्ठानले बताए पनि अस्पतालको सेवामा भने बिरामीले भरपर्दो सर्वसुलभ मूल्यमा चेकजाँच गर्न पाइरहेको अवस्था छैन।
अस्पतालमा आएका बिरामीहरूले उपचार गराइसक्न ३ देखि १ हप्तासम्म धाउनुपर्ने बाध्यता अझैसम्म कायम छ। यति मात्र होइन यहाँका चिकित्सकहरु बाहिरी क्लिनिकहरूको कमिसनको खेलमा लागेर बिरामीहरुलाई चर्को मूल्यमा चेकजाँच गराउन बाध्य पारिरहेका छन् । यस अस्पतालका धेरै चिकित्सकहरुले पनि सेटिङमा निजी क्लिनिक तथा अस्पतालहरूमा बिरामी पठाउने गरेका छन्। जसले गर्दा हेटौंडा अस्पतालमा पुगेका बिरामीहरुलाई त्यहाँ उपचार नगराई महँगो चेकजाँचमा पार्न बाध्य बनाइरहेका छन्।
८३ वर्षको वृद्धले भन्छन ‘मदन भण्डारी प्रतिष्ठानको नाममा आएपछि त अलि सजिलो होला भनेको झन् दुःख पाइयो यहाँ पनि महँगो भएछ डाक्टरले बाहिर पठाउँछन् बाबु’। आफूलाई चिकित्सकले हेटौडा अस्पतालमा भिडियो एक्सरे गर्दा राम्रो आउँदैन ढिला हुन्छ बाहिर गर्नुस् छिटो पनि हुन्छ राम्रो पनि हुन्छ भन्दै बाहिरको रेफर कार्ड भिडाएर पठाएको बिरामीको गुनासो छ । उनले भने, ‘स्वास्थ्य बीमा गरिएको छ सरकारी अस्पतालमा राम्रै होला कम पैसामा होला भनेर उपचार गर्न आएको तर बिरामीलाई क्लिनिकमै पठाउँदा रहेछन् सरकारी अस्पतालको के काम भयो र ? सरकारी चिकित्सकले निजीको रेफर कार्ड थमाउदै पठाउने गरेको विषयमा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई बुझ्दा उनले उक्त चिकित्सक संग बुझेर प्रतिक्रिया दिने बताए ।
यसरी सरकारी अस्पतालका चिकित्सक नै कमिसनको खेलमा लागेपछि बिरामीले थप सास्ती भोगिरहेका छन् भने उपचारका लागि निजी क्लिनिक धाउन बाध्य बनिरहेका छन्। अर्कोतर्फ हेटौंडा अस्पतालमा आएका बिरामीहरूले टिकट काट्नदेखि औषधि लिँदासम्म हैरानी मात्र खेप्नुपर्दछ। सर्वसुलभ मूल्यमा छिटो सजिलो उपचार नागरिकले हेटौंडा अस्पतालबाट पाउन सकेका छैनन्।
सामान्य औषधि समेत अस्पतालको फार्मेसीमा उपलब्ध नभएपछि सो समेत निजी क्लिनिकमा बाट खरिद गर्नुपर्ने बाध्यतामा पर्छन् बिरामीहरू। तर यस विषयमा अस्पताल प्रशासन भने चुपचाप बस्ने गरेको छ।


















