हेटौंडा । कलेजो हाम्रो शरीरको एक महत्त्वपूर्ण अङ्ग हो । कलेजोले भोजनमा भएको पोषक तत्व जस्तै भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट आदिलाई अलग-अलग गर्छ। अनि शरीरको आवश्यकताअनुसार शरीरको भिन्दाभिन्दै ठाउँमा पुर्याउँछ । जब शरीरलाई तुरुन्त उर्जाको आवश्यकता हुन्छ, त्यसबेला यसको काम आउँछ । यदि कलेजोमा कुनै समस्या आयो भने भोजनबाट लिएको पोषक तत्व शरीरको सबै अङ्गले ठिकसँग प्राप्त गर्न सक्दैन । फ्याटी लिभर यस्तै एक समस्या हो, जसले कलेजोलाई कमजोर बनाउँछ । त्यति मात्र होइन, यो क्यान्सरको कारणसमेत बन्न सक्छ ।
हाम्रो खानपिन र जीवनशैली यति छिटो छिटो परिवर्तन हुँदै गइरहेछ कि हामीलाई आफ्नोबारे ध्यान दिने समय नै छैन । समयको अभाव र आलस्यका कारण हामी आफ्नो शरीरलाई जे पनि खुवाइरहेका हुन्छौँ । आजको यस लेखमा आमी यस्ता पेय पदार्थबारे कुराकानी गर्नेछौँ, जसको नियमित सेवनले कलेजोमा नराम्रो असर पार्न सक्छ ।
- धेरै चिनी भएको हलुका पेय पदार्थ
सफ्ट ड्रिंक्समा चिनी र फ्रुक्टोजको मात्रा धेरै हुन्छ, जसले कलेजोमा अतिरिक्त बोसो जम्मा गराउन सक्छ । यसको निरन्तर सेवनले नन–अल्कोहोलिक फ्याटी लिभर डिजिज (एनएएफएलडी)को जोखिम बढाउँछ ।
- मदिरा
धेरै मदिरा पिउनु कलेजोको लागि सबैभन्दा हानिकारक हुन्छ । यसले कलेजोको कोषहरूलाई क्षति पुर्याएर अल्कोहोलिक फ्याटी लिभरको समस्या निम्त्याउन सक्छ । बिस्तारै लिभर सिरोसिस र अन्य गम्भीर समस्याहरूको जोखिम बढ्दै जान्छ ।
- धेरै क्याफिन भएका इनर्जी ड्रिङ्क्स
केही इनर्जी ड्रिंक्समा क्याफिन र चिनीको मात्रा बढी हुन्छ, जसले कलेजोमा अतिरिक्त दबाब दिन्छ । यसको अत्यधिक सेवनले कलेजोको डिटोक्सिफिकेसन क्षमतालाई कमजोर बनाउन सक्छ ।
- फलफूलको प्रशोधित जुस
बजारमा पाइने प्याक गरिएका फलफूलको जुसमा अत्यधिक चिनी र प्रिजर्भेटिभ्स हुन्छन् । यसमा प्राकृतिक फाइबरको कमी हुन्छ, जसले गर्दा कलेजोले बोसोलाई राम्रोसँग प्रशोधन गर्न सक्दैन र बिस्तारै फ्याटी लिभरको समस्या बढ्न सक्छ ।
लक्षण
ननअल्कोहोलिक फ्याटी लिभरको सामान्यतया कुनै लक्षण हुँदैन । तर, फ्याटी लिभर भएमा स्वास्थ्यमा यस्ता परिवर्तन देखिन्छ ।
–थकान
–पेटको दायाँ भागको माथिल्लो भागमा असहय पीडा हुने
–तौल कम हुनु
कसरी बच्ने त ?
–जीवनशैली सुधार्ने
–नियमित व्यायाम तथा योग गर्ने
–उचित समयमा चिकित्सकसित परामर्श गर्ने र उपचार सुरु गर्ने
–आफ्नो खानामा ग्रिन टी र हर्बल पेय पदार्थ समावेश गर्ने
–ताजा फलफूलको रस वा कागती पानी पिउने
















