प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस छलफलमा अर्थमन्त्री विष्णु पौडेल पनि मिसिएका छन् । मंगलबार बिहान करिब ११ बजे देउवा बालुवाटार पुगेलगत्तै अर्थमन्त्री पौडेललाई बोलाइएको थियो । अर्थमन्त्रीसहित ३ नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गभर्नर नियुक्तिमा भएको ढिलाइले अविश्वास बढेको चर्चाका बीच अर्थमन्त्रीलाई समेत राखेर ओली र देउवाबीच छलफल भएको हो ।
प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउँदै देउवासँगको भेट आजका लागि सारिएको थियो । आज पनि स्वास्थ्य त्यति राम्रो नभए पनि बाहिरको कार्यक्रममा सहभागी नभई प्रधानमन्त्री निवासमै भेटघाटको कार्यक्रम राखिएको हो ।प्रधानमन्त्रीको अस्वस्थताको कारण आज संसदमा जवाफ दिने कार्यक्रम भने स्थगित गरिएको छ ।


















