राजावादी समूहले तीनकुनेमा प्रदर्शन तथा जुलस गर्दा भएको लुटपाट र आगजनीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउने तयारी भएको छ । तीनकुने घटनामा मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न गर्ने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहोराका अनुसार प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित अनुसन्धान करिब सकिएको र त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ ।बोहोराले भने, ‘अनुसन्धान सकियो, यसलाई अन्तिम रूप दिने त प्रहरीले आज साँझसम्म अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने तयारी गरेको छ । घटनामा ६१ जनालाई प्रतिवादी बनाउने तयारी छ ।उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, ज्यान मार्ने र ज्यान मार्ने उद्योगअन्तर्गतका चार कसुर लगाउने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी चार वटा कसुर लगाउने तय भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गत १५ चैतदेखि नै घटनाको अनुसन्धान गर्दै आएको छ । घटनामा हालसम्म १७० भन्दा धेरै पक्राउ परेका थिए । जसमध्ये ५३ अभियुक्त प्रहरी हिरासतमै छन् ।राजावादीहरूले चैत १५ पछि आउँदो जेठ १५ गते प्रदर्शनको तयारी गरिरहेका छन् । शान्तिपूर्ण प्रदर्शन भनेकोमा राजवादीको आन्दोलन हिंसात्मक बनेको थियो । चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई प्राथमिकतामा राखेर सरकारले अनुसन्धान गर्ने जनाएको छ । राजावादीहरूको त्यो प्रदर्शनबारे सत्तापक्ष र विपक्षीले विपरीत धारणा राखेका छन् ।
सत्ता पक्षीय सांसदहरूले तीनकुने घटना घटाउनेलाई कानुनी कठघरामा उभ्याइनुपर्ने बताएका थिए । लोकतान्त्रिक पक्षधरले राजावादीहरूले गत चैत १५ गते हिंसात्मक घटना घटाएर देशलाई अराजकता निम्त्याउन गरेको प्रयासलाई निस्तेज पार्न खुट्टा नकमाउन आग्रह गरेका थिए ।


















