कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्तमा उपचार गराउँदै

हेटौंडा टुडे
२०८२ जेष्ठ ९, शुक्रबार १५:५१ गते

युवापुस्ताका चर्चित कमेडियन मेक्सम गौडेल प्याङ्क्रियाजमा घाउ भएपछि अहिले दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहेका छन् । केही दिनदेखि उनले त्यहाँ फलोअप उपचार गराइरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार अहिले गौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । गौडेल २ महिनादेखि प्याङ्क्रियाजको समस्याबाट पीडित छन् । यसअघि पेटमा दुखाइ भएपछि उनी बानेश्वरस्थित सिभिल अस्पतालमा १२ दिन भर्ना भएका थिए ।

त्यसपछि दिल्लीको मेदान्त अस्पतालमा पुगेर उपचार गरे । ‘अहिले उहाँ फलोअपमा जानुभएको हो । स्वास्थ्यमा क्रमिकरुपमा सुधार भैरहेको छ’ निर्देशक भण्डारीले अनलाइनखबरसँग भने, ‘उहाँ पहिले १५-१६ दिन अस्पतालमा बस्नुभएको हो । अहिले फलोअपमा जानुभएको हो ।’ ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोड गरेपछि उनी बिरामी भएका थिए । ‘कमेडी च्याम्पियन’बाट उदाएका गौडेल टिभीसँगै फिल्ममा पनि चर्चित छन् । उनले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका थिए । सुमन कार्की लगायत उनका सहकर्मी कमेडियनले सामाजिक संजालबाट गौडेलको स्वास्थ्य लाभको कामना गर्दै चाँडै स्टेजमा फर्किएको हेर्न चाहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*