दर्शकले बलिउडको कमेडी फिल्म ‘हाउसफुल ५’को उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्। यो वर्षको सबैभन्दा प्रतिक्षित हिन्दी फिल्म ‘हाउसफुल–५’ अबको तीन दिनपछि अर्थात यही जेठ २४ गतेदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउँदैछ । यद्यपि, फिल्मप्रतिको दर्शकको उत्साहले रिलिजको पर्खाइसमेत रोक्न सकेको छैन । रिलिजभन्दा तीन दिन पहिले नै अग्रिम बुकिङमार्फत निर्माताहरूको झोला करोडौँ रुपैयाँले भरिएको छ ।
फिल्मको बुकिङ जुन २ अर्थात सोमवारदेखि खुला गरिएको थियो । पहिलो दिनमै २४ हजार २३८ टिकट बिक्री भई ८७ करोड ८४ लाख रुपैयाँको कारोबार भएको थियो । दोस्रो दिनसम्म आइपुग्दा यो सङ्ख्या ४५,४११ टिकट पुगेको छ । एउटा रिपोर्ट अनुसार ८,४७५ शोहरूमा फिल्मको टिकट बिक्रीबाट हालसम्म १ करोड ५१ लाख भारु बढी कलेक्सन भइसकेको छ । त्यसैगरी, ब्लक सिट बुकिङको हिसाबले हाउसफुल ५ ले अहिले नै ४।७८ करोड रुपैयाँको कलेक्सन गरिसकेको छ । यस्तो अग्रिम प्रतिक्रिया हेर्दा अनुमान गर्न सकिन्छ कि फिल्मले पहिलो दिनमै घरेलु बक्स अफिसमा धमाकेदार ओपनिङ गर्नेछ ।
फिल्मलाई २०२४ को तिहारमा रिलिज गर्ने योजना थियो, तर विविध कारणले गर्दा त्यो सम्भव भएन । अहिले भने ट महिनापछिको प्रतिक्षा सकिँदैछ र दर्शकहरू पुनः एकपटक ‘हाउसफुल’ श्रृङ्खलाको रमाइलो अनुभव लिन उत्साहित देखिन्छन् । साजिद नाडियाडवालाद्वारा निर्मित यो फिल्म दुई फरक संस्करण– ५ ए तथा ५ बि मा रिलिज हुनेछ । अझ रोचक कुरा के छ भने, दुबै संस्करणको क्लाइम्याक्स फरक–फरक हुनेछ, जसले दर्शकमा थप कौतूहलता सिर्जना गर्ने अपेक्षा गरिएको छ।
तरुण मनसुखानीको निर्देशनमा बनेको यस मल्टीस्टारर फिल्ममा बलिउडका चर्चित कलाकारहरू देखिनेछन् । फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, संजय दत्त, फरदीन खान, श्रेयस तलपडे, नाना पाटेकर, ज्याकी श्रॉफ, डिनो मोरेया, चंकी पाण्डे, जोनी लिवर, निकितिन धीर, ज्याकलिन फर्नान्डिज, नरगिस फाखरी, सोनम बाजवा, चित्रांगदा सिंह र सौन्दर्या शर्मा जस्ता चर्चित कलाकारहरू मुख्य भूमिकामा रहेका छन् ।


















