दिक्क किन लागिरहन्छ ? यस्ता हुनसक्छन कारणहरु

हेटौंडा टुडे
२०८२ जेष्ठ २८, बुधबार १३:५९ गते

हेटौंडा । आज मलाइ त कस्तो दिक्क लागेको, आजको दिन कस्तो दिक्क लाग्दो, यो देखेर मलाई दिक्क लागिसक्यो । यस्ता भनाइ हामीले धेरै जनाबाट प्राय सुनिरहेका हुन्छौँ र हामी आफैँले पनि बेलाबेला यही कुरा भनिरहेका हुन्छौँ । झन यो गर्मिमा त जति खेर पनि दिक्क लागिरहेको हुन्छ । केहि गर्न जागर पनि चल्दैन। गर्मिको मौसममा धेरै दिक्क लाग्ने, अल्छि लाग्ने गर्दछ। हरेक दिन एउटै प्रकृतिको काम गर्दा प्रायः मानिसलाई दिक्क लाग्छ । बिहान उठ्ने, खाना खाने, अफिस जाने, घर फर्किने र भोलिपल्ट फेरि उही तालिका । जसले मानिसलाई दिक्क बनाउनु स्वभाविक नै हो । तर कतिपय व्यक्तिलाई जे काम गर्दा पनि दिक्क लाग्छ ।

शारीरिक थकान वा अरु सामान्य कारणले यस्तो महसुष हुन्छ । बेलाबखत यस्तो सबैलाई हुन्छ, जुन सामान्य हो । तर, हरबखत वा धेरैजसो समय दिक्क लागिरहन्छ भने त्यसले अरु समस्यालाई संकेत गर्छ ।

आखिर मानिसलाई किन दिक्क लाग्छ त ? यसका पछाडि के छन् कारण  ?

दिक्क लाग्नु एक व्यक्तिपरक अनुभव हो, यो प्रत्येक व्यक्तिमा फरक-फरक तरिकाले प्रकट हुन सक्छ । कसैलाई यो भावनाले काममा ध्यान केन्द्रित गर्न गाह्रो बनाउँछ भने कसैलाई सामाजिक गतिविधिमा सहभागी हुन मन लाग्दैन । सामान्यतया, यो अवस्थामा व्यक्ति उदास, निराश वा कुनै कुरामा रमाइलो नभएको अनि हैरानी महसुस गर्छ ।

दिक्क लाग्नुका कारण

१. शारीरिक कारण

शारीरिक स्वास्थ्य समस्याले पनि दिक्क लाग्ने भावनालाई निम्त्याउँन सक्छ। जस्तो:- थाइराइडको समस्या, भिटामिन डीको कमी, रक्तअल्पता वा निद्राको कमीले व्यक्तिलाई थकान र उदास महसुस गराउन सक्छ । यस्तै, लामो समयसम्म अस्वस्थकर खानपान, व्यायामको कमी वा हर्मोनल असन्तुलनले पनि यस्तो अवस्था निम्त्याउन सक्छ।

३. सामाजिक कारण

सामाजिक तथा पारिवारिक झमेलाहरूले पनि मान्छेलाई दिक्क लागिरहेको हुन्छ । अप्ठ्यारा, अभाव, सामाजिक अलगावका साथै परिवार वा साथीहरूसँगको सम्बन्धमा उतारचढाव आउनाले पनि दिक्क लाग्ने अवस्था सिर्जना भएको हुन्छ । कार्यस्थलको तनाव, दबाबले पनि दिक्क लाग्ने भावनालाई बढावा दिन सक्छ । विशेष गरी, आधुनिक जीवनशैलीमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग, तुलनाको भावना र व्यस्त जीवनले व्यक्तिलाई एक्लो र निराश बनाउन सक्छ ।

२. मानसिक कारण

मानसिक तनाव, एन्जाइटी, र डिप्रेसन दिक्क लाग्नुका प्रमुख कारणहरू हुन् । जब व्यक्ति कुनै कुरालाई लिएर बारम्बार चिन्तित हुन्छ वा आफ्नो जीवनमा नियन्त्रणको अभाव महसुस गर्छ, तब दिक्क लाग्ने भावना बढ्न सक्छ । कुनै ठूलो घटना, जस्तै प्रियजनको मृत्यु, सम्बन्ध विच्छेद वा रोजगारी गुमाउनु जस्ता कारणले दिक्क लाग्ने भावना उत्पन्न गर्न सक्छ ।

४.वातावरणीय कारण

आफूलाई मन नपर्ने वातावरणीय अवस्था हुँदा मान्छेलाई दिक्क लाग्ने भवना आउँछ । शहरी कोलहाल वा लामो समयसम्म एकान्त वा सुनसान ठाउँमा बस्दा मान्छेहरू ‘साह्रै दिक्क लाग्यो’ भनिरहेका हुन्छन् । निरन्तर एउटै खालको मौसम हुनु सुख्खा उराठलाग्दो दिन, धेरै समयसम्म निरन्तर झरी पर्नु, चर्को घामी लागिरहनु, धेरै दिनसम्म अतिजाडो भइरहनु, अति गर्मी हुनु जस्ता कारण मान्छेलाई दिक्क लागिरहेको हुन्छ ।

अब के गर्ने त ?

सन्तुलित खानपान, पुग्दो निद्राले हामिहरुलाइ दिक्क लाग्न दिदैन। गेडागुडी, सागपात, मौसमी फलफूल, माछामासु, अण्डा, दूध वा दूधजन्य परिकार आदि सन्तुलित मात्रामा खाने । व्यायाम गर्ने । योग, ध्यान, प्राणायाम जस्ता विधि अपनाउने । जंकफुड वा प्रशोधित खानपान नियन्त्रण गर्ने, चुरोट र रक्सीको मात्रा घटाउने, सुत्ने र उठ्ने तालिका नियमित बनाउने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*