आज प्रतिनिधिसभा बैठक बस्दै

हेटौंडा टुडे
२०८२ असार १, आईतवार १०:३९ गते

हेटौंडा। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ बैठकमा पेस गर्नेछन् ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने बताइएको छ ।

प्रतिनिधि सभा बैठकमा गृह मन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै रास्वपा र राप्रपाले भने विरोध जनाउँदै आएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) शुक्रबार सत्तापक्ष दलहरूसँग दुई बुँदे सहमति गरी संसद खुलाउन तयार भएको थियो । सहमतिपछि शुक्रबार नै गृह मन्त्री रमेश लेखकले भिजिट भिसालाई लिएर आफूमाथि लगाइएको आरोप संसदमा स्पष्टीकरण दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*