नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात गर्न सुरु गर्‍यो

हेटौंडा टुडे
२०८२ असार १, आईतवार १३:२९ गते

हेटौंडा । नेपालले आइतबारदेखि बंगलादेशलाई व्यवसायिक रूपमा ४० मेगावाट विद्युत निर्यात सुरु गरेको छ। वर्षायाममा आन्तरिक मागभन्दा बढी उत्पादन हुने विद्युत् अब तेस्रो देश बंगलादेशमा पठाउन थालिएको हो। नेपाल विद्युत प्राधिकरणका अनुसार निर्यात असार १ गते राति १२ बजेदेखि औपचारिक रूपमा सुरु गरिएको हो।

गत वर्ष कात्तिक १८ गते (जुलाई १५) पहिलोपटक नेपालले भारत हुँदै बङ्गलादेशमा परीक्षण स्वरूप १२ घण्टाका लागि विद्युत निर्यात गरेको थियो। सो सम्झौताको निरन्तरतास्वरूप यस वर्ष भने नेपालले लगातार पाँच महिना, नोभेम्बर १५ सम्म विद्युत आपूर्ति गर्ने भएको छ।

नेपाल, भारत र बङ्गलादेशबीच विद्युत व्यापारसम्बन्धी त्रिपक्षीय सम्झौता गत वर्ष असोज १७ गते भएको थियो। सोही सम्झौता बमोजिम त्रिशुली जलविद्युत आयोजनाबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१.४० मेगावाट गरी कुल ४० मेगावाट विद्युत बङ्गलादेश पठाइनेछ।

विद्युत ढल्केबरस्थित ४०० केभी सबस्टेशनबाट भारतको मुजफ्फरपुर र बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विद्युत निर्यातको सुरुआतलाई ऐतिहासिक अवसरका रूपमा लिँदै यसले नेपालको ऊर्जा क्षेत्रको सम्भावना र समृद्धिमा योगदान पुर्‍याउने बताएका छन्। “विद्युत क्षेत्र नेपालको आयात घटाउने र निर्यात बढाउने सम्भावनायुक्त क्षेत्र हो,” मन्त्री खड्काले बताए।

नेपाल विद्युत प्राधिकरणका अनुसार आगामी पाँच महिनाको अवधिमा करिब १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत बङ्गलादेशमा निर्यात हुनेछ। यसबाट नेपालले ९४ लाख अमेरिकी डलर (अन्दाजी १ अर्ब २९ करोड नेपाली रुपैयाँ) आम्दानी गर्नेछ। विद्युतको बिक्री दर ६.४० अमेरिकी सेन्ट प्रति युनिट तोकिएको छ।

ऊर्जा प्रणाली नियन्त्रण विभागका उपप्रबन्धक सुवर्ण सापकोटाका अनुसार यो निर्यातले नेपालको उर्जा सन्तुलन, जलविद्युतको उपयोग र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नेपाल सरकारको ‘ऊर्जा विकास मार्गचित्र २०८१’ अनुसार सन् २०३५ भित्र २८,५०० मेगावाट विद्युत उत्पादन गरी १५,००० मेगावाट निर्यात गर्ने लक्ष्य लिएको छ। बङ्गलादेशमा सुरु गरिएको निर्यात त्यस दिशातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*