हेटौंडा । हेटौंडामा पहिलो पटक २ दिने सीप महोत्सव आयोजना हुने भएको छ । बागमती प्रदेश उद्योग परिसंघ तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा हुने भएको हो । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) दोस्रो, हेल्भेटास नेपाल र विभिन्न संघ संस्थाको सहयोगमा उक्त सीप महोत्सव हुन लागेको हो । सीप विकाससँग सम्बन्धित विविध आयामहरूको बारेमा उजागर गर्ने अभिप्रायका साथ यही असार १२ र १३ गते हेटौँडामा सीप महोत्सव आयोजना गर्न लागिएको शनिबार पत्रकार सम्मेलन मार्फत महोत्सवको बारेमा जानकारी दिईएको छ ।
‘हेटौँडामा पहिलो पटक ” २०८२” को २ दिने सीप महोत्सव आयोजना गर्न लागेको बताउँदै बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलले नीजि क्षेत्रको नेतृत्वमा सीप, दक्षता प्रदर्शन तथा वृत्ति परामर्श, उद्योग भ्रमण र अनुभव साटासाट गर्ने अभिप्रायका साथ आयोजना गर्न लागेको बताएका छन् । महोत्सव रोयल प्यालेसमा हेटौंडामा बिहान ९ बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा बागमती प्रदेशका विभिन्न प्राविधिक शिक्षालयहरू, उद्योग प्रतिष्ठानहरू, सरकारी तथा निजी क्षेत्रका सरोकारवालाहरू, प्रशिक्षार्थीहरू, विद्यार्थी तथा युवा सहभागी हुनेछन्।
सीप महोत्सव २०८२ को प्रमुख उद्देश्य भनेको रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीचको अन्तरसम्बन्धलाई सशक्त बनाउने, तालिम प्रदायक संस्थाहरू र उद्योगबीच समन्वय कायम गर्दै दक्ष जनशक्ति उत्पादन र तिनलाई रोजगारी सुनिश्चित गर्ने वातावरण तयार पार्नु हो। यसले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारीको परनिर्भरतामा कमी ल्याउने विश्वास गरिएको छ।
महोत्सवमा बागमती प्रदेशस्तरीय सीप प्रतियोगिता, साइकोमेट्रिक परीक्षण, विद्यार्थी तथा युवाहरूलाई समूहमा वृत्ति परामर्श सहित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र वृत्ति मार्गनिर्देशन सम्बन्धि अभिमुखीकरण, सीप सिकाइ र प्रदर्शन, विद्यार्थीहरुलाई उद्योग भ्रमण, प्यानल डिष्कसन, सम्मान कार्यक्रम सञ्चालन हुने बताएका छन।
मकवानपुर, चितवन, काठमाडौं, काभ्रेपलाञ्चोक जिल्लाका १८ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालन भएका शिक्षालयमध्ये सूचना प्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन अध्यापन हुने ९ वटा शिक्षालयहरूबाट छनौट गरी प्रदेश स्तरीय सीप महोत्सवमा सहभागी गराइनेछ । प्रत्येक शिक्षालयबाट प्रथम र द्वितीय हुने विजेतालाई सम्बन्धित शिक्षालयबाट प्रशंसापत्र प्रदान गरिने बताइएको छ । महोत्सवमा तीन हजारदेखि पाँच हजारसम्मले अवलोकन गर्ने अनुमान गरिएको छ ।


















