तामाकोशीको निर्माणाधीन पक्की पुल फेरि भाँचियो

हेटौंडा टुडे
२०८२ असार ८, आईतवार १४:१६ गते

रामेछापको मन्थली नगरपालिका–६ कुनाउरी र ७ भटौलीलाई जोड्ने तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरी भाँचिएको छ । निर्माणको क्रममा रहेको उक्त पुल आइतबार (आज) बिहान दोस्रोपटक भाँचिएको हो । वैशाख महिनामा पुलको केही भाग मात्र भाँचिएको भए पनि अहिले भने पुलको चार वटा स्पान मध्ये बिचको स्पान पुरै भुईँमा खसेको छ । सडक विभागले २२ करोड ५५ लाखको लागतमा निर्माण गरिरहेको उक्त पुलको अन्तिम स्पान भाँचिएको छ । आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पुरै खसेको छ। स्ल्याव यसअघि गत बैशाख २६ गते क्रयाक भएको थियो। त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिहरेको अवस्थामा आइतबार बिहान स्ल्याब पुरै भाँचिएर भुईँमा झरेको हो।

कालिका – कल्पवृक्ष जेभि निर्माण कम्पनीले निर्माण कार्य गरिरहेको उक्त पुल २ सय ३० मिटर लामो रहेको छ । गत वैशाख महिनामा भाँचिएको स्पानको मर्मतको काम भइरहेको बेला सोही स्पान फेरी पूर्ण रूपमा भाँचिएको हो । ०७८ सालबाट निर्माण सुरु गरिएको उक्त पुल यही असार मसान्त सम्ममा सक्ने गरी निर्माण भइरहेको थियो । ४ वटा स्पान भएको सो पुलको चौँथो स्पान भाँचिएको हो । पुल भाँचिनुको कारण थाहा भएको छैन । निर्माण कम्पनीले पुल भाँचिनुको कारणका  प्राविधिक टोली ल्याएर परीक्षण गर्ने बताएको छ । उक्त पुल निर्माण पछि रामेछापको मन्थलीबाट काठमाण्डौं र तराई जानका लागि छोटो दुरी पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*