हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने महत्वपूर्ण सडक मार्ग कान्ति लोकपथ कन्तविजोग अवस्थामा रहेको छ। देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने सडकमध्ये टीकाभैरव-हेटौँडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा चल्तीको सडक हो । पछिल्लो समय बीपी राजमार्गमा समस्या आएकाले हेटौँडा हुँदै पूर्व जाने सवारीसाधनले पनि यो सडक प्रयोग गर्ने गरेका छन् । बाढीको जोखिमका कारण अहिले बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान साढे ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।
त्यसो त टीकाभैरव-हेटौँडा सडक पनि जोखिमरहित भने छैन । टीकाभैरवदेखि भिमफेदी (बागमती पुलसम्म) ठाउँ-ठाउँमा पहिरो झरेको छ । पानी परेपछि बाटो हिलो भएर सवारीसाधन फस्ने समस्या छ । पानी परेका बेला हुस्सु लागेर भिजिबिलिटी निकै कम हुने गर्छ । यसैगरी, भिमफेदी (बागमती खोला) देखि मकवानपुरगढीसम्म ठाउँ-ठाउँमा सुख्खा पहिरो जाने अनि ढुंगा खस्ने भइरहेको छ । बाटो निर्माणको काम पनि भइरहेको छ ।



















