हेटौंडामा । बच्चाहरुको बाल्यकाल अत्यन्त संवेदनशील अवस्था हो । सही र गलत छुट्याउन नसक्ने यो उमेरमा अभिभावक र परिवारबाट समय, माया, साथ र संस्कार नपाउँदा बालबालिकामा नकारात्मक मनोविज्ञान हावी हुन्छ र आपराधिक गतिविधि वा कुलतको बाटोतर्फ उन्मुख गराउँछ।आफ्ना छोराछोरी असल र राम्रा बनून् भन्ने चाहना सबैको हुन्छ । यद्यपि, बाल्यावस्थाको चाहना, आवश्यकता, दिनुपर्ने समय र संस्कारप्रति भने अभिभावकलाई पर्याप्त ज्ञान नहुन सक्छ।
परिवारको माया, समय र संरक्षणको अभावमा बालबालिका कुलतमा फस्नुका साथै विभिन्न अपराधमा संलग्न भएका घटना बढ्दै गएको हामिहरुले धरै देखिरहेका छौ। अभिभावकबाट कम समय पाएका तथा पारिवारिक विखण्डन र प्रविधिको विकासक्रमले एक्लै रमाउने स्वभावमा हुर्कि रहेका बालबालिका अपराध र कुलतमा फसेका छन्। अझ प्रस्ट रुपमा भन्नु पर्दा अभिभावकहरु आफ्नो बच्चाहरुमा भन्दा पनि मोबाइलमा धरै ध्यान दिने, टिकटकमा वेस्त हुने, घुम्न गइराख्ने फेरीफेरी लुगा लगाउने, मिठो मिठो खाना खान होटेल रेस्टुरेन्ट तिर धाउने अनि छिमेकि र आफन्तहरुलाइ देखाउन सामाजिक संजाल तिर तस्बिर राख्नेमा ध्यान दिएको देखिन्छ। अनि बच्चाहरुले के सिक्ने ? भनिन्छ बच्चाहरुले राम्रो संस्कार, बोली बचन, आनि बानि सबै घरबाटै सिक्छन तर यस्तो वातावरणमा के सिक्छन तेइ टिकटक बनाउन कि राम्रो हुदै घुम्न जान, अहिले अभिभावकहरु यति धेरै व्यस्त भएका छन कि बालबालिकालाई दिने समय नै छैन ।
यसर्थ, परिवारको माया, साथ, समय र संस्कारले बालबालिकाको भविष्य निर्धारण गर्छ ।आफू हुर्किएको संस्कारले समेत बालबालिका आपराधिक गतिविधमा संलग्न हुने कुरा निर्धारण गर्छ। प्रविधिले गाँजिरहेको विद्यमान अवस्था र एक्लोपनमा हुर्किरहेका बालबालिकाका लागि अभिभावक र परिवारले के कस्ता शिक्षा र वातावरण प्रदान गरी आफ्नो उत्तरदायित्व वा जिम्मेवारी निभाउन सक्छन् भन्ने विषयमा यस लेखमा विश्लेषण गर्ने जमर्को गरिएको छ।
१. आदर र मायाः बालबालिकामा ठूलाबडालाई आदर गर्ने तथा सानालाई माया गर्ने मानवीय गुणमा ह्रास हुँदै गएको पाइन्छ । अविभावक र परिवारका सदस्यहरूलाई हेला गर्ने, वास्ता नगर्ने, आफ्ना आमाबाबुलाई वृद्धाश्रममा राख्ने, विदेश जाने अनि उतै बस्ने र आमाबाबुको मृत्यु पर्यन्त मात्र काजकिरियाको लागि आउने जस्ता अनगिन्ती दृष्टान्त यसका प्रतिफल हुन्। यसर्थ, आफूभन्दा ठूलालाई आदर गर्ने र सानालाई माया गर्न सिकाउने गुणको व्यावहारिक सिकाइ सिकाइ हुनु आवश्यक छ ।
२.धैर्यता र एकाग्रता हुन सिकाउनेः बालबालिकामा तत्काल परिणाम चाहिने प्रवृत्ति हावी हुँदै गएको पाइन्छ । केही पाउनको लागि अवश्य पनि केही समय त कुर्नुपर्छ। तर प्रविधि एवं पारिवारिक वातावरणले कलिला बालबालिका एकाग्र हुन सकेका छैनन्। कुनै चिज पाउन केही समय धैर्यता गर्नुपर्ने अवस्था आएमा अहिलेका बच्चाहरू बेचैन हुने र उग्र रूप देखाउने गरेको पाइन्छ। यसैकारण परिवारभित्र नै जघन्य अपराधका घटनासमेत हुनसक्छ । अविभावकले यस विषयमा संवेदनशील भएर शिक्षा दिनुपर्ने देखिन्छ ।
३.अग्रज पुस्तासँग समय बिताउन दिनेः आमाबाबुले पर्याप्त समय दिन नसके पनि चाहेको खण्डमा अग्रज पुस्ता हजुरबुवा हजुरआमाले समय दिनसक्ने अवस्था हुन्छ । अग्रज पुस्ताबाट बालबालिकाले इतिहास, सामाजिक सद्भाव, कला, भाषा, संस्कृति, नैतिक शिक्षा, धर्म इत्यादि कुरा सिक्न सक्छन्। संस्कार र सस्कृति पुस्तान्तरण पनि अग्रज पुस्ताबाटै हुने हो। तसर्थ, बालबालिकालाई अग्रजसँग समय बिताउन दिनु प्रभावकारी हुनेछ।
४. समयको महत्व सिकाउनेः सुरक्षा फौजमा बाहेक अधिकांश राजनीतिक, पारिवारिक, सामाजिक तथा संघ संस्थाका कार्यक्रमहरु कहिल्यै पनि समयमा सुरु हुँदैनन्। विभिन्न बहानामा समय धकेलेर कार्यक्रम गरिन्छ।अरुको समयभन्दा पनि आफ्नो बाध्यतालाई ठूलो देखाउने प्रचलन हावी छ। यसले कार्य सम्पादन र समयलाई महत्व दिएको देखिँदैन यस किसिमको प्रवृत्ति बालबालिकामा पुस्तान्तरण हुँदा भोलिको अवस्था कस्तो होला< अहिलेका बालबालिका भविष्यका कर्णधार हुन्। त्यसैले उनीहरूमा समयको महत्व अहिले नै बुझाउन जरुरी छ।
५.शारीरिक र खेलकुद शिक्षाः शारीरिक रूपमा तन्दुरुस्त भएमा मात्र कुनै पनि व्यक्ति मानसिक रूपमा पूर्ण तन्दुरुस्त हुनसक्छ । स्वस्थ जीवनको लागि आवश्यक पर्ने शारीरिक शिक्षाको जग खेलकुद हो । खेलकुदले व्यक्तिविशेषको मात्र पहिचान होइन, देशको समेत प्रतिष्ठा बढाउँछ । अहिलेका बालबालिकामा खेलकुदप्रति रुचि देखिँदैन । शारीरिक परिश्रम नपर्ने पढाइ युवा पुस्ताको प्राथमिकतामा पर्छ । सानै उमेरका बालबालिका मोटोपन, मधुमेह तथा रक्तचापका बिरामी बनेका उदाहरण प्रशस्त देख्न पाइन्छन् । यस विषयमा शिक्षक तथा अविभावकले विशेष ध्यान दिनु जरुरी छ।
बालबालिकाले अभिभावक पाए तर समय पाएनन्। सूचना र प्रविधिको अवसर पाए तर सामाजिक हुन पाएनन् । पारिवारिक मूल्य र मान्यता सिक्न पाएनन्। पारिवारिक माया र संरक्षण पाए तर बालापनमा बाँच्न पाएनन्। यसैले परनिर्भरता र एक्लोपनमा बाल्यअवस्था हुर्किंदैछ।


















