हेटौंडा। नेपालबाट रोजगारीका लागि विदेश जाने नेपालीको संख्या हरेक वर्ष जस्तो बढीरहेको छ । त्यसका साथै अहिले विदेशिनेमा महिलाको सख्यां पनि बढिरहेको छ। नेपालबाट महिलालाई वैदेशिक रोजगारीमा जानका लागि कडाइ गरेको छ । तर पनि कामको खोजिमा विदेश जाने नेपाली चेलिहरुको संख्या हरेक वर्ष जस्तो बढ्दै गएको देखिएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालबाट विदेशमा रोजगारीका लागि जाने नेपालीको संख्या २१ लाख ९० हजार ५९२ रहेको छ । यी मध्ये करिब ४ लाख महिलाहरु विदेशमा रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ३ लाख ९० हजार ९१७ जना महिलाहरु विदेशमा रोजगारीका लागि गएका छन् ।
त्यसैगरी चालू आर्थिक वर्षको चैत सम्ममा मकवानपुरबाट ३ हजारको संख्यामा महिला वैदेशिक रोजगारीको लागि विदेशिएको छ। मकवानपुरमा चालू आर्थिक वर्षको चैत सम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुमा पुरुष ८ हजार २ सय ५७ र महिला ३ हजार रहेको देख्न सकिन्छ। यसरी यसवर्षको चैत मसान्त सम्ममा मात्र ११ हजार २ सय ५७ जनाले मकवानपुरबाट श्रम स्वीकृति लिएर विदेशिएका छन् । विदेशीनेमा पुरुषको तुलनामा महिलाको संख्या कम देखिएपनि गत वर्षहरुको भन्दा यो तथ्याकं बढ्दो रहेको हो।
चालू आर्थिक वर्षमा स्रोतकेन्द्रबाट ७ हजार २ सय ६६ जनामा सुरक्षित वैदेशिक रोजगार बारे सूचना प्रवाह गरिएको र जसमा ८७ प्रतिशतको उदेश्य वैदेशिक रोजगारीको रहेको छ । वैदेशिक रोजगारीका लागि विशेषत सयुक्त अरब इमिरेट्स, साउदी अरेविया, कतार, मलेसिया, कुवेत, क्रोयसिया, रोमानीया, जापान, कोरिया र बहराईनका लागि विदेशिने गरेको पाइएको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारहरु अर्धदक्ष र अदक्ष हुँदा नेपाली कामदारहरुले जोखिमपूर्ण कार्य गर्नुपर्ने अवस्था रहेको हो। वैदेशिक यात्रामा जानेहरु ठगी तथा अलपत्र पर्नु, आयमुलक क्षेत्रमा परिचालन गर्न नसक्नु, रोजगारीमा गएका महिलाहरुलाई सुरक्षाको जोखिम हुनु, साथै मानसिक चिन्ता, डिप्रेसन र आत्महत्याको घटनामा वृद्धि हुने जस्ता चुनौतीहरु धेरै देखापरेको देखिन्छ।


















