हेटौंडा । बागमती प्रदेशसभाबाट विनियोजन विधेयकमा छुटेका कार्यक्रमहरू थपिएको छ । शनिबार बेलुकी बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेश सरकारले विनियोजन विधेयकमा छुटेका कार्यक्रम थप गरेको हो ।
बैठकमा सभामुख भुवन पाठकले २०८२ असार १ गते प्रदेशसभामा पेश भएको विनियोजन विधेयकमा थप भएका कार्यक्रमहरू पेश गर्न अनुमति दिएका थिए ।
त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले बागमती प्रदेशमा थप भएका विभिन्न कार्यक्रमहरू विनियोजन विधेयकको अंग बनोस् भनी सभामा पेश गरेका थिए । सो विधेयक पेश भएपछि मन्त्री काफ्ले संसदभित्र प्रवेश गरेका थिए । यसलाई सांसदहरूले नाटकीय मञ्चन र गाईजात्रा भनी कटाक्ष गरेका थिए ।
बिनियोजन विधेयकमा छुटेका कार्यक्रम समावेश नगरी संसद सुचारू हुन नदिने अडानका कारण दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ र साँझ ६:३० बजेका लागि सारेर बेलुकी मात्रै बसेको थियो ।


















