हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आदिकवि भानुभक्त आचार्यको साहित्यिक मार्गले हाम्रो पहिचान बनाउने बताउनुभएको छ । २१२ औँ भानु जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले आदिकवि आचार्यप्रति भावपूर्ण श्रद्धाभाव समेत व्यक्त गर्नु भएको हो ।
वि.सं. १८७१ साल असार २९ गते अर्थात् आजकै दिन तनहुँ जिल्लाको चुंदी रम्घामा जन्मनुभएका नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई साहित्यिक धरातलमा स्थापित गरी जनजिब्रोमा मिसाउनु भएको ऐतिहासिक योगदान सबैका लागि गर्वको विषय भएको प्रदेश प्रमुख देवकोटाले उल्लेख गर्नु भएको छ । प्रदेश प्रमुख देवकोटाले आदिकवि आचार्य प्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली भाषा, साहित्य र पहिचानको संरक्षणमा भानुभक्तको मार्गदर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका हुन् ।
प्रदेश प्रमुख देवकोटाले आफ्नो सन्देशमा भनेका छन्, ‘भानुभक्तले देखाएको साहित्यिक मार्गले हामीलाई आफ्नो मौलिकता, पहिचान र सांस्कृतिक चेतनाको संरक्षण गर्न प्रेरणा दिएको छ।’ ‘हाम्रा गाउँघरहरू रामायणका श्लोक वाचनले गुन्जायमान हुन्थे,’ देवकोटाले स्मरण गर्दै भनेका छन्, ‘प्रायः सबैका लागि रामायण कर्णप्रिय ग्रन्थ थियो, आज पनि छ। यसले भाषा मात्र होइन, सांस्कृतिक चेतना पनि विस्तार गर्यो।’
प्रदेश प्रमुख देवकोटाले भानुभक्त र घाँसीबीचको प्रेरणादायी प्रसङ्गको चर्चा गर्दै साधारण जनताको जीवन दर्शनबाट नै लोककल्याणको मार्ग देखाउने शिक्षात्मक सन्देश दिएको बताए । नयाँ पुस्तामा साहित्यिक चेतना भरिने आशा व्यक्त गर्दै उनले भनेका छन्, ‘यस अवसरले नेपाली भाषाप्रति माया, साहित्यप्रति सम्मान, र संस्कृतिप्रति गौरवको भावना अझ सुदृढ बनाओस्। हामी सबैले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने संकल्प लिनुपर्छ।’
उहाँले सबैमा एकताको भावना थप प्रगाढ बनाई, नयाँ पुस्तामा साहित्यिक चेतना भरेर सृजनशीलताको नयाँ युगको प्रारम्भ गराओस् भन्ने कामना व्यक्त गर्नु भएको छ । ‘‘भानुभक्तले देखाएको मार्गमा हामी सबै अघि बढी नेपाली भाषा र साहित्यलाई माया र सम्मान गर्न सकौँ, अन्तर्राष्ट्रिय जगतमा नेपाली साहित्यलाई अझ उजागर गर्न सकौँ भन्ने आशा व्यक्त गर्दछु’’ उहाँले सन्देशमा भन्नु भएको छ ।


















