हेटौँडामा प्रदेश स्तरीय प्रहरी अस्पतालको शिलान्यास

हेटौंडा टुडे
२०८२ असार ३१, मंगलवार १४:३१ गते

हेटौंडा । हेटौँडामा प्रदेशस्तरीय प्रहरी अस्पताल निर्माणको शिलान्यास गरिएको छ। बागमती प्रदेश सरकारको सहयोगमा मंगलबार हेटौँडा उपमहानगरपालिका–१७ स्थित हटियामा अस्पताल शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले शिलान्यास गर्दै प्रहरीका लागि मात्र नभई स्थानीय बासिन्दाका लागि पनि अस्पताल लाभदायी हुने उल्लेख गरेका छन।  ‘प्रदेशको सुरक्षाका साथसाथै नागरिक स्वास्थ्यलाई समेत ध्यानमा राख्दै यस अस्पतालको निर्माण थालिएको हो,’ मन्त्री लामिछानेले भने।

बागमती प्रदेश प्रहरी कार्यालयमार्फत सञ्चालन हुने यस परियोजनाको पहिलो चरणमा बहिरङ्ग विभाग, कर्मचारी आवास, डिप बोरिङ, पार्किङ, घेराबारलगायतका संरचना निर्माण हुनेछन्। मन्त्रालयबाट विनियोजित बजेटबाट सुविधा सम्पन्न ३० शय्याको अस्पताल निर्माणको योजना रहेकामा प्रारम्भिक चरणमा १५ शय्याको अस्पतालको काम सुरु गरिएको हो।  आगामी २०८३ पुस १८ गतेभित्रमा सम्पन्न गर्नेगरी मूल्य अभिवृद्धि करसहित ८ करोड ३ लाख ७१ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको हो ।

पहिलो चरणमा बहिरंग विभाग, कर्मचारी आवास, अस्पतालपरिसरको घेराबार, डिपबोरिङ, पार्किङलगायत संरचना निर्माण गरिनेछ। अस्पताल निर्माण सम्पन्न भएपछि अन्तरंग र बहिरंग सेवा दुवै सञ्चालन गरिने प्रदेश अस्पतालका चिकित्सक प्रहरी नायब उपरीक्षक डा. प्रयास बिडारीले जानकारी दिए।

हाल बागमती प्रदेश प्रहरी अस्पतालले हेटौँडा १५ स्थित रातोमाटे गणबाट प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*