हेटौंडा । स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण गर्न डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण गर्नका लागि श्रावण महिनालाई डेंगु सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै स्वास्थ्य मन्त्री पौडेलले श्रावण महिनाबाट डेंगु संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको सङ्क्रमण उच्च हुने भन्दै यी ४ महिनामा कुनै पनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरू जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरू पुर्न र फालिएका टायरहरू व्यवस्थापन गर्न मन्त्री पौडेलले आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणका लागि शुल्क निर्धारण गर्न आवश्यक रहेको बताएका छन् । सकेसम्म निःशुल्क परीक्षणको प्रयत्न गर्ने र नसके निश्चित शुल्क निर्धारण गरिने उनले उल्लेख गरे । सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गर्दै स्थानीय तहहरूसँग मिलेर डेंगीविरुद्ध सचेतना गर्ने बताएको छ। मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुन सक्ने अनुमान पनि गरेको छ ।
सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेंगु संक्रमण भएको र ११ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । मन्त्रालयका अनुसार चालू आर्थिक बर्षमा मात्रै नेपालमा ५० हजारभन्दा बढी डेंगु संक्रमित भएका छन् ।


















