खडेरीले धान सुक्दै, चिन्तामा किसान

हेटौंडा टुडे
२०८२ श्रावण ९, शुक्रबार १२:५८ गते

हेटौंडा । देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भयो । तर मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म वर्षा हुन सकेको छैन । अकासे पानी नपरेपछि पर्साका दक्षिणी भेगका किसानलाई भर्खरै रोपेको धानबाली जोगाउने चिन्ताले सताएको छ । पर्सासहित मधेश प्रदेशका अधिकाशं जिल्लामा पर्याप्त मात्रामा पानी नपरेपछि भर्खरै रोपेको धानखेतमा अहिले धाँजा फाट्न थालेको छ ।
पर्साका किसानले गण्डक नहर, स्यालो ट्युबवेल, पप्पसेट, डिपबोरिङलगायत सहायताले जेनतेन धान रोपाइँ गरे पनि अहिले रोपिएका धानलाई जोगाउन निकै सकस परिरहेको छ ।
सुख्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले यहाँका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । साउन ७ गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मधेश प्रदेशका विभिन्न जिल्लामा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैन । रोपाइँ गरिसकेका खेत पनि धाँजा फाट्ने, बीउ सुक्ने जस्ता समस्या किसानले झेलिरहनु परेको छ । हरेक वर्ष मलखादको अभाव झेल्नु परेका मधेशका किसानले यो वर्ष भने सुख्खा र खडेरी सामना गर्नु परेको छ ।
स्थानीय सरकार र प्रदेश सरकारले यहाँका किसानका लागि खासै ध्यान नदिएको किसानहरुको गुनासो छ ।  कतिपय बिसानहरु सुख्खा खेतमा नै रोपाइँ गर्दै छन त कतिले रोपाइ नै नगरी पानि पर्छ कि भन्ने आसमा बसिरहेका छन।

उक्त क्षेत्रमा सिँचाइका लागि कमला सिँचाइ आयोजना रहे पनि त्यो प्रभावकारी देखिएको छैन । सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ (नहरमार्फत) सुविधासहित त्यहाँका ४० हजार घरपरिवार लाभान्वित हुने भनिएको थियो। अहिले यो आयोजनाका अधिकांश पम्प सञ्चालनमा छैनन् ।

त्यहाका किसानहरु मल पनि नपाएको र पम्पसेट पनि वितरण नगरिएको गुनासो गर्दछन। नगरपनिकाले पम्पसेट वितरण गर्दा आफूले नपाएको पैसा र पहुँच हुनेले मात्र पाइरहेको भन्दै गुनासो गर्दछन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*