रूसमा शक्तिशाली भूकम्प पछि जापानमा १९ लाख भन्दा बढीलाई भनियो घर छोड्न

हेटौंडा टुडे
२०८२ श्रावण १४, बुधबार १४:४५ गते

हेटौंडा । रुसमा आएको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको कारण जापानले १९ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न भनेको छ ।

रूसको सुदूरपूर्वको कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको भूकम्प गएपछि प्रशान्त महासागरमा सुनामी आएको छ। महासागरको १९.३ किलोमिटर गहिराइमा शक्तिशाली धक्‍कापछि पनि शक्तिशाली पराकम्पनहरू गएका छन्।

पहिलो पराकम्पन नै ६.९ र दोस्रो पराकम्पन ६.१ म्याग्नेच्यूडको मापन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पाँच म्याग्नेच्युडमाथि सातवटा पराकम्पनहरू गएका छन्। भूकम्पले कामाचाट्कामा चार मिटरको सुनामी पैदा गरेको थियो।

भूकम्प पछि अमेरिका, जापान, फिलिपिन्स, इन्डोनेसिया, चीन, चिली, पेरू, मेक्सिको, पनामा र ताइवानले आफ्नो देशको तटीय क्षेत्रका नागरिकहरूलाई सुरक्षित ठाउँमा बस्ने भनेर सतर्कता सूचना प्रवाह गरेको छ।

यीमध्ये जापान र अमेरिका बढी प्रभावित भएका छन्।  जापानले तटीय क्षेत्रका झन्डै २० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सर्न भनेर उर्दी जारी गरेको छ। जापानको होकाइदोदेखि वाकायामासम्म तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरू, त्यहाँका व्यवसायहरू खाली गर्न भनेर सरकारी सूचना प्रणालीमार्फत मानिसहरुको मोबाइलमा सूचना पठाइएको छ।

होकाइदोमा मात्रै १० हजार भन्दा बढी मानिसहरुको मोबाइलमा तत्काल तटीय क्षेत्र छाडेर सुरक्षित स्थानमा सर्न चेतावनीपूर्ण सन्देश पठाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*