किन आवश्यक छ त पर्याप्त निन्द्रा? यस्ता छन कारणहरु

हेटौंडा टुडे
२०८२ भाद्र २, सोमबार १२:४६ गते

हेटौंडा । निद्रा स्वस्थ जीवन शैलीका लागि अपरिहार्य मानिन्छ। वास्तवमा कम सुत्नु वा आवश्यकता भन्दा बढि समयसम्म सुत्नु दुवै स्वास्थ्यका लागि फाइदाजनक हुँदैनन् ।

शरीर स्वस्थ रहन हर्मोन सन्तुलनमा हुन आवश्यक छ । र, हर्मोन सन्तुलन पर्याप्त निद्रा, स्वस्थकर खानपान र सक्रिय दिनचर्याले हुन्छ । तर, अहिलेको भागदौड दिनचर्या, तनाव, अस्वस्थ खानपान, अनियमित दिनचर्या र निद्राको कमीले अधिकांशको स्वास्थ्यमा गम्भीर प्रभाव पार्न थालेको छ ।

यी समस्याहरू आउनासाथ हर्मोनल असन्तुलन हुन थाल्छ । जसले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्छ । हर्मोन भनेको शरीरमा विविध जैविक क्रियाकलापहरू समन्वय गर्न मद्दत गर्ने सन्देशवाहक रासायनिक तत्व हुन् ।

यी हर्मोनहरूले हाम्रो तौल, मूड, निद्रा, भोक, प्रजनन् क्षमता र ऊर्जा स्तर नियन्त्रण गर्छन् । अनि यी सबैकुरा नियन्त्रणमा बाधा पुर्‍याउने प्रमुख तत्व हो, अनिद्रा । जब निद्राको समय अस्तव्यस्त छ । हर्मोन असन्तुलित हुन्छन्, तब शरीरमा थाइराइड, अनियमित महिनावारी, तनाव, तौल बढ्नु, निद्रा समस्या र मूड स्विंगजस्ता समस्याहरू देखा पर्न सक्छन् ।

जब हामी सुत्छौँ, तब मात्र हाम्रो शरीरका सम्पूर्ण अंगहरूलाई आराम मिल्छ र त्यसपछि अर्को दिन पूर्ण ऊर्जा प्राप्त हुन्छ। निद्राको बेला हामी शारीरिक र मानसिक रूपमा आरामको अवस्थामा हुन्छौँ तर हाम्रो शरीरले भित्रबाट काम गरिरहन्छ।  वयस्क व्यक्तिका लागि दैनिक कम्तिमा सात घण्टा सुत्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

हर्मोनल सन्तुलन र निद्राको सम्बन्ध

दैनिक कम्तीमा ७ घण्टा गहिरो निद्रा लिनु हर्मोनल सन्तुलनका लागि अत्यन्त जरुरी छ । निद्राको समयमा हाम्रो शरीर आफूलाई मर्मत गर्छ र थकान हटाउँछ ।

यस क्रममा मेलाटोनिन, कोर्टीसोल, इन्सुलिन, ग्रोथ हार्मोन, लेप्टिन र घ्रेलिन जस्ता हार्मोनहरू सन्तुलित रहन्छन् । यी हार्मोनहरूको सही सन्तुलनले मात्र हाम्रो स्वास्थ्य राम्रो रहन्छ ।

निद्रा नपुग्दा हुने समस्या

यदि हामीले नियमित र पर्याप्त निद्रा नलिए हाम्रो शरीरमा हर्मोनहरूको असन्तुलन देखिन थाल्छ । यसकारण थकान, तौल बढ्नु, चिन्ता, अनियमित महिनावारी, पाचन समस्या र मानसिक रोगहरूजस्तै डिप्रेसन र एन्जाइटीका जोखिम बढ्छन् ।

महिलाहरूमा विशेषगरी पीसीओडी, पीसीओस, थाइराइड रोग र प्रजनन् समस्याहरू बढी देखिन्छन् ।

सात घण्टा निद्रा, किन त ?

दैनिक कम्तीमा ७ देखि ८ घण्टा निद्रा लिन सल्लाह दिइन्छ । किनकि, यो समय शरीरलाई पूर्णरूपमा आराम गर्न र मर्मत गर्न पर्याप्त हुन्छ । ७ घण्टा भन्दा कम निद्राले कोर्टीसोल र इन्सुलिनजस्ता हर्मोनको स्तर बिगार्न सक्छ, जसले तनाव, सुगर लेवल असन्तुलन र तौल नियन्त्रणमा समस्या ल्याउँछ ।

निद्रा किन आवश्यक छ ?
– स्वस्थ जीवनका लागि निद्रा अपरिहार्य कुरा हो।
– शरीरलाई उर्जा दिन, वृद्धि र विकासका लागि पनि निद्रा आवश्यक छ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पनि निद्रा पुग्नुपर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*