बागमतीमा ९६ हजार भन्दा बढी गाईभैँसीलाई लगाइयो लम्पी स्किनविरुद्ध खोप

हेटौंडा टुडे
२०८२ भाद्र १८, बुधबार १५:४८ गते

हेटौंडा ।  बागमती प्रदेशमा तीव्ररूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणका लागि सञ्चालन गरिएको सप्ताहव्यापी खोप अभियान अन्तर्गत हालसम्म ९६ हजार ३४७ वटा गाई–भैँसीलाई खोप लगाइएको छ। प्रदेशको १३ जिल्लामा यही भदौ १ गतेबाट सुरु भएको खोप अभियानमा  ९६ हजार ३ सय ४७ गाईभैँसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयले १ लाख २० हजार पशुवस्तुमा खोप लगाउने लक्ष्य सहित सप्ताहव्यापी अभियान सुरु गरेकोमा अभियान अवधिभर लक्ष्यको ८०.२९ प्रतिशत मात्रै खोप लगाइएको हो। जसमा सबैभन्दा धेरै खोप मकवानपुरमा लगाइएको मन्त्रालयको तथ्यांक छ। प्रदेशका १३ जिल्लामध्ये १० स्थानीय तह रहेको मकवानपुरमा सप्ताहव्यापी खोप अभियानभर २४ हजार ६ सय ९५ डोज खोप लगाएको तथ्यांक छ।

लम्पी स्किन रोगले गाई–भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, शरीर सुन्निने र जनावर अशक्त हुने जस्ता लक्षण देखिन्छ। पछिल्लो समय यो रोग चितवनमा बढी फैलिएको छ।

ललितपुरबाट सुरू गरिएको खोप अभियान क्रमशः अन्य १३ जिल्लामा विस्तार गरिएको हो। मन्त्रालयका अनुसार, सिन्धुलीमा १०,३२८, रामेछापमा ४,४३७, काठमाडौंमा ४,३५०, ललितपुरमा ३,६०६, भक्तपुरमा १,५४३, धादिङमा ६,०५१, काभ्रेपलाञ्चोकमा ७,६९८, नुवाकोटमा ७,७२४, रसुवामा ३,६३४, दोलखामा ९,९८२, सिन्धुपाल्चोकमा ६,२८४, चितवनमा ६,०१५ र मकवानपुरमा २४,६९५ गाई–भैँसीलाई खोप लगाइएको छ।

वागमती प्रदेशमा करिब ६ लाख ९४ हजार गाई र ५ लाख ४९ हजार भैँसी छन्। ती पशुबाट वार्षिक ४ लाख ८१ हजार ७७१ मेट्रिक टन दूध उत्पादन हुने गर्दछ। जिल्लागत हिसाबले चितवन दूध उत्पादनमा अगाडि छ, जहाँ मात्रै ९२ हजार गाई र ७२ हजार भैँसी रहेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेशभर ११ हजार २१८ गाई–भैँसी लम्पी स्किन रोगका कारण मरेका थिए। त्यही अवधिमा ३७ हजार ८९ संक्रमित भएका थिए भने २ लाख ५६ हजारभन्दा बढी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका थिए।यसअघि नै प्रदेशभर २ लाख ४५ हजारभन्दा बढी गाई–भैँसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ। मन्त्री मधुसुदन पौडेलका अनुसार, खोप अभियान अहिले पनि निरन्तर जारी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*