हेटौंडा । छालाको स्याहारका लागि बच्चादेखि बुढासम्म सबै घामबाट जोगिनु राम्रो मानिन्छ । त्यसमाथि सबैभन्दा बढी घाममा देखिने अङ्गलाई त अझ धेरै जोगाउनु पर्ने चिकित्सकहरू बताउँछन् । शरीरका अङ्गहरूमध्ये छाला सबैभन्दा बढी सेन्सेटिभ हुन्छ । शरीरको खुला भागलाई एक दिनको घामले मात्र पनि पूरै क्षति गराउँछ ।
त्यसमा पनि वर्षाको समयमा संक्रमित रोगहरु बढी देखिने गर्छन्। यस समयमा विभिन्न ब्याक्टेरिया, भाइरस तथा फंगस सम्बन्धि रोगहरु बढी देखिने गर्छन्। धाउ पाक्ने, पिलो आउने लगायतका समस्या पनि यस मौसममा देखिने गर्छ। दुई तीन दिनसम्म कुनै पनि ढुसीलाई छोपेर राख्दा पाउरोटीमा हुने परिवर्तनजस्तै हाम्रो शरीरमा पनि फंगसहरु आउने गर्छन्। काप-कापमा धाउ आउने, गोडाको औंलामा छालाका पत्र पत्र जाने जाने जस्ता समस्या देखिने गर्छन्। यस समयमा संक्रमित रोगहरु बढ्छन्।
क्रिम तथा फेसवासको छनौट
फेसवास तथा क्रिम छान्नु अगाडि आफ्नो छालाको विशेषता थाहा पाउन जरुरी छ। सामान्य,सुख्खा,चिल्लो,मिश्रित तथा संवेदनशील छालाको प्रकृति अनुसार फेसवास तथा क्रिमको प्रयोग गर्नुपर्ने हुन्छ।
त्यसका लागि सबैभन्दा पहिले छालाको प्रकृतिबारे थाहा पाउनका लागि चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ।गर्मी तथा जाडो महिनामा भिन्नै प्रकारको क्रिमको प्रयोग गर्नुपर्ने हुन्छ।
छालालाई महत्वपूर्ण तथा भित्री स्वास्थ्यको ऐनाका रुपमा लिन सकिन्छ। छाला स्वस्थ भएमा मात्रै सबै अंग स्वस्थ हुन्छ। शरीरका अन्य अंगमा समस्या आउँदा पनि छालामा विभिन्न प्रकारका रोग देखिन सक्छ। पेटसम्बन्धी रोग, थाइराइड डायबिटिज लगायतका रोगहरुको असर पनि छालामा पर्न सक्छ। त्यसकारण राती अबेर मात्रै सुत्ने, धूम्रपान तथा मद्यपान गर्ने बानीले छालालाई राम्रो गर्दैन। खानामा बढी मात्रामा हरिया तरकारी तथा फलफुलको प्रयोग, प्रशस्त मात्रामा पानी पिउने जस्ता बानीले छालालाई स्वस्थ बनाइन राख्न सहयोग गर्छ।
छालाको स्याहारका लागि शारीरिक व्यायामको पनि आवश्यकता पर्छ। मोटोपना बढ्दै जाँदा डन्डीफोर आउने, हार्मोनल परिवर्तन हुने,घाँटी पछाडी कालो–कालो भएर जाने,काखीमा कालो कालो हुने जस्ता समस्या देखिन सक्छन्। छालालाई सुक्खा हुन नदिन पर्याप्त पानी पिउने गर्नुपर्ने हुन्छ।
बढी मोबाइल चलाउँदा छाला पर्ने असर
बढी समय मोबाइल, कम्यूटरको प्रयोग गर्ने मानिसहरुलाई छालामा गम्भीर असर गर्न सक्छ। यस्ता सामग्रीहरुबाट उत्पादन हुने निलो प्रकाशले छालालाई गम्भीर असर गर्न सक्छ। विगतमा गर्भवती महिलाहरुमा बढी सताउने चाँया पोतोको समस्या पछिल्लो समय बढी समय स्क्रिनमा काम गर्ने पुरुषहरुमा पनि देखिएको छ। बढी मोबाइल तथा कम्युटरको प्रयोग गर्नेहरुमा कम उमेरमा नै बुढ्यौलीको जस्तै छाला देखिन्छ।
सन्क्रिम तथा फेसवासको प्रयोग
बिहानको समयमा मुख धुनका लागि फेसवासको प्रयोग अनिवार्य नभएपनि साँझको समयमा भने छालाको स्याहारका लागि फेसवासले मुख धुनु राम्रो मानिन्छ।
सन्क्रिमको प्रयोग भने छालाको प्रकृति अनुसार चिकित्सकको सल्लाह अनुसार गर्नु राम्रो हुन्छ। धेरै जस्तो सन्क्रिमले ३,४ घन्टा काम गर्छ। त्यसकारण दिनमा ४ घन्टाको फरकमा सन्क्रिमको प्रयोग गर्नु राम्रो मानिन्छ। त्यस्तै कतिपयको घरमा नै दही, कागती लगायतका पदार्थको प्रयोग गरेर फेसप्याक गर्ने बानी हुन्छ, जुन वैज्ञानिक हिसाबले राम्रो होइन। त्यसकारण त्यस्तो नगर्न मेरो सुझाव छ।
छालाको स्याहारका लागि के गर्ने, के नगर्ने?
छालाको स्याहारका लागि सबैभन्दा महत्वपूर्णमा बिहान उठेर फेसवास गर्ने, छालाको प्रकृतिअनुसार मोस्टराइजर गर्ने तथा सन्क्रिमको प्रयोग गरेपछि छालाको स्याहारका लागि बिहानको काम सकिन्छ।
राती समयमा पनि समान्य प्रकारका छाला भएकाहरुले फेसवास गरेर रातीको क्रिम लगाउनुपर्छ। सिरमहरु भने व्यक्तिको छनौटमा भर पर्छ।


















