आज पुष्य नक्षत्रका दिन ५ वर्ष सम्मका बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’

हेटौंडा टुडे
२०८२ कार्तिक २५, मंगलवार ११:४१ गते

हेटौंडा । आज पुष्य नक्षत्रका दिन बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाईंदैछ । बालबालिकामा व्याधि प्रतिरोधक क्षमताको वृद्धि गरी सर्ने तथा नसर्ने विभिन्न रोगहरूबाट जोगाउन हेटौँडामा ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम सञ्चालन गरिएको छ ।

हेटौँडा स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले मङ्गलबार बिहान पुष्य नक्षत्रको दिन पारेर एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम सञ्चालन गरेको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय निर्णय अनुसार बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका २०८२ अनुसार कार्यक्रम राखिएको निमित्त कार्यालय प्रमुख अशोककुमार झाले जानकारी दिनु भएको हो। ।

बालबालिकालाई हरेक २८ दिनमा पर्न आउने पुष्य नक्षत्रमा स्वर्णप्रासन खुवाउने मान्यता छ । पूर्वीय ज्योतिषशास्त्र र आयुर्वेदले पुष्य नक्षत्रलाई उर्वरता र पोषणसँग सम्बन्धित मानेको छ । शास्त्रीय विधिसम्मत बिहानको समयमा पुष्य नक्षत्रको दिन पारेर देशभरिका २५ वटा आयुर्वेदिक केन्द्रहरूबाट महिनैपिच्छे यो औषधि निःशुल्क वितरण गरिँदै आएको छ ।

रुघाखोकी, ज्वरोलगायतको समस्या भएको बच्चाबाहेक अरूलाई स्वर्णप्रासन खुवाउन सकिने  आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । रुघाखोकी, ज्वरो आएकालाई खुवाउँदा खोकीलाई झन् बढाउँछ कि भनेर नखुवाउन भनिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बताएको छ। बालबालिकाको उमेरअनुसार दुईदेखि पाँच थोपा खुवाइन्छ ।

स्वर्णबिन्दुप्रासन सुनको भष्ममा घिउ र मह मिसाएर बनेको र परम्परागत रूपमा प्रयोग हुँदै आएको छ । यसको वैज्ञानिक पुष्टि समेत भइसकेको र विभिन्न ठाँउमा नमुना परिक्षण समेत भइसकेकाले सरकारले यो वर्षदेखि लागू गरेको विभागले जनाएको छ ।

बालबालिकाको प्रतिरक्षा प्रणालीको सुधार गर्नाका साथै बुद्धिको विकास, स्मरण शक्ति बढाउँछ । बालबालिकाको पाचन शक्ति राम्रो गराउँछ भने बल र आयु बढाउँछ । समग्र शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धनमा  स्वर्णबिन्दु प्राशन महत्त्वपूर्ण मानिन्छ । कार्यक्रम संयोजक प्रसादका अनुसार स्वर्णबिन्दु प्राशन महिनामा एक पटक खाली पेटमा दिनुपर्छ । यो ३० मात्रासम्म खान राम्रो मानिन्छ । यो सामान्यतया छ महिनादेखि पाँच वर्षको उमेरसम्मका बालबालिकालाई ख्वाउने गरिन्छ । “नियमित लगाउनुपर्ने अन्य खोपहरू लगाइरहे जस्तै स्वर्णबिन्दु प्राशन पनि नियमित खुवाउनुपर्दछ, एक पटक मात्रै खुवाएर हुँदैन  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*