हेटौंडा । आज विश्व मधुमेह दिवस । नेपालमा जीवनको हरेक चरणमा मधुमेह भन्ने नाराका साथ विभिन्न सचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाईँदै छ ।
यस दिवसले मधुमेह अझै पनि प्रमुख जनस्वास्थ्य चुनौतीको रूपमा रहेको सहज परीक्षण, उपचार र सहयोगी वातावरणको आवश्यकताको स्मरण गराएको छ । बालबालिकादेखि गर्भवती महिला र ज्येष्ठ नागरिकसम्म सबैका लागि उमेरअनुसारको रोकथाम, समयमै मधुमेहको पहिचान र नियमित उपचार अनिवार्य छ ।
मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन थालिएको हो।
मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसङ्घले प्रोत्साहन गर्दै आएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए।
मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण यो रोग बढ्दै गएको हो। स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने उपाय हुन्। विश्व स्वास्थ्य संगठनले बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैलीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।


















