हेटौंडा । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ । मोफसलमा रहेर अत्याधुनिक सेवा भित्र्याउँदै आएको सिएमसीले नेपाल मै दोस्रो रोबोटिक सर्जरी सेवा सुरु गरेको हो । रोबोटिक तथा युरो सर्जन डा प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जनहरु डा विशाल आचार्य र डा रोहितकुमार मिश्रको नेतृत्वमा रोबोटिक सर्जरी सुरु गरिएको छ ।
अस्पतालमा हालसम्म १४ वटा रोबोटिक सर्जरी गरिसकिएको अस्पतालले जनाएको छ ।
रोबोटिक सर्जरी चिकित्सकको प्रत्यक्ष रूपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोबोटिक हातहरूको माध्यमबाट हुने अपरेसन हो।
यस सर्जरीमा चिकित्सकले कम्प्युटर प्रविधिको सहायताले अपरेसन टेबलमा भन्दा टाढा बसेर कम्प्युटर स्क्रिनमा उपकरणको गति र दिशा नियन्त्रण गरेर शल्यक्रिया सञ्चालन गर्छन्।
यो प्रणालीले अत्यन्त सानो प्वालबाट अपरेसन गर्ने भएकाले बिरामीमा कम रक्तस्राव, न्यून पीडा, छिटो निको हुने, संक्रमणको जोखिम कम हुने जस्ता फाइदा बिरामीले पाउँछन्,’ डा. गुरूङले भने, ‘थ्रीडी दृश्य र स्थिर रोबोटिक हातका कारण जटिल शल्यक्रिया पनि अझ सुरक्षित र सूक्ष्म रूपमा गर्न सकिन्छ। परम्परागत प्रविधिहरूको तुलनामा रोबोटिक प्रणाली प्रयोग गर्दा शल्यक्रियामा बिरामीको शारीरिक र मानसिक दुवै पक्षलाई ध्यानमा राखेर प्रभावकारी रूपमा संवेदनशील र जटिल उपचारहरू गर्न सकिन्छ।
सुरूमा यो प्रविधि अमेरिकी सेनाले टाढाबाट अपरेसन गर्न सक्ने प्रविधिका रूपमा विकास गरेको थियो। यसको उद्देश्य युद्धको मैदानमा रहेका घाइते सैनिकको तत्काल उपचार गर्नु थियो।
सन् १९९० पछि यो प्रविधि अस्पतालहरूमा प्रयोग गर्न थालिएको हो। सन् २००० तिर दा भिन्ची सर्जिकल सिस्टम नामक पहिलो व्यावसायिक रोबोटिक प्रणाली अमेरिकी खाद्य तथा औषधि निकाय एफ.डि.ए. द्वारा स्वीकृत भएपछि यसको प्रयोग तीव्र रूपमा बढ्दै गएको गुरूङले बताए।
रोबोटिक शल्यक्रिया गर्दा शुल्क केही महँगो पर्ने भए पनि अस्पताल बसाइ कम, समयको बचत, घाउ निको हुने दर उच्च र अन्य धेरै कारणले गर्दा समग्रमा बिरामीलाई फाइदा नै हुने डा गुरुङको भनाइ छ ।
लामो समय अमेरिकामा रोबोटिक सर्जरीमा सक्रिय रहेका डा. गुरूङले यस प्रणालीले चिकित्सकलाई थ्रिडी दृश्य र उच्च प्रविधिका उपकरण प्रयोग गरेर अपरेसन गर्न सहज बनाएको बताए।


















