हेटौंडा । अमेरिकी आक्रमणमा भेनेजुएलामा १०० जनाको मृत्यु भएको छ। राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएपछि अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणमा बुधबार अबेर राति १०० जनाको मृत्युभएको हो। भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोसडाडो क्याबेलोले बुधबार अबेर यसको पुष्टि गर्दै मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका हुन्।
मन्त्री क्याबेलोका अनुसार आक्रमणमा १०० जना मारिनुका साथै सोही संख्यामा मानिसहरू घाइते भएका छन्। उनले मारिनेहरूमा द्वन्द्वसँग कुनै सरोकार नभएका सर्वसाधारण नागरिक र आफ्नै घरमा बसिरहेका महिलाहरू समेत रहेको बताएका छन्।
भेनेजुएलाको राजधानी र अन्य क्षेत्रमा खसालिएका शक्तिशाली बमका कारण ठुलो क्षति भएको बताइएको छ। यसैबिच, क्युबा सरकारले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त सैन्य अभियानका क्रममा आफ्ना ३२ जना नागरिक मारिएको जानकारी दिएको थियो। क्युबाली सशस्त्र बल र गृह मन्त्रालयको मिशनमा रहेका ती नागरिकहरू ‘लडाइँका क्रममा’ मारिएको दाबी क्युबाले गरेको छ।
भेनेजुएलाका अधिकारीहरूले मदुरोको सुरक्षा टोलीको ठूलो हिस्सा ‘चिसो रगतमा’ लत्पत्तिएको बताएका छन् । क्युबाले समेत भेनेजुएलामा आफ्नो सैन्य र गुप्तचरहरु मारिएको बताएको छ ।
अमेरिकाले छापा मार्ने क्रममा मदुरोसँगै हिरासतमा रहेकी उनकी श्रीमती सिलिया फ्लोरेसको टाउकोमा चोट लागेको काबेलोले बताएका छन् ।


















