झापा–५ मा केपी र बालेन बिच रोचक प्रतिस्पर्धा, बालेनको चुनावी अभियान तिव्र

हेटौंडा टुडे
२०८२ माघ २०, मंगलवार ११:५८ गते

हेटौंडा । झापा–५ माप्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्। सोमबार साँझ झापा पुगेका उनले मंगलबार बिहानै कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्याबारे छलफल गरे।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र कृषिजन्य विकास जस्ता विषयमा स्थानीय नेतासँग छलफल गरेका रास्वपाले जनाएको छ । प्रत्यक्ष संवादले मतदाताको विश्वास बढाउने र आगामी निर्वाचनका लागि प्राथमिकतामा आधारित एजेन्डा तय गर्न सहयोग गर्ने बालेनले विश्वास लिएका छन् ।

मुख्य चासोका रुपमा हेरिएको यो क्षेत्रमा बालेनले प्रत्यक्ष भेटघाटमार्फत मतदाताको मनोभाव बुझ्ने प्रयास गरिरहेका छन् । आज विहान मात्र कमल गाउँपालिकामा स्थानीय नेतृत्वसँग भेटघाट समेत गरे ।

साथै, उनले झापाको कमल गाउँपालिकामा रहेका सुकुमवासीसँग पनि भेटघाट गरेका छन् । सुकुमबासीको गुनासो सुनेर जवाफसमेत दिएका छन ।
त्यहाँका युवाहरुले काठमाण्डुको सुकुमवासी बस्तीमा डोजर चलाएको बालेनले झापामा बसिरहेका सुकुमवासीलाई पनि उठाइदिन्छ’ भन्ने कुरा आफूले सुनेको भन्दै बालेनसमक्ष गुनासो गरेका थिए ।

बालेनले भने काठमाण्डुको र झापाको सन्दर्भ फरक रहेको बताउँदै डोजर नलाग्ने आश्वासन दिए । उनले भने ‘काठमाण्डुमा खोला छेउको सार्वजनिक जग्गा हो । उहाँहरू जहाँ बस्नुभएको छ, बाढी आउँदा त्यहाँ डुबान हुन्छ। त्यहाँभन्दा माथिसम्म नै पुग्छ । असारमा बाढी आउँदा उहाँहरूलाई त्यहाँबाट उठाएर अन्यत्र लैजानुपर्छ नि त,’ सुकुमवासी समुदायको जिज्ञासामा बालेनले भनेका छन्,‘त्यसैले उहाँहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा राख्नुपर्‍यो भनेर गरेको हो । तर, त्यसको गलत न्यारेटिभ गरेर डोजर जस्तो देखिएको हो । खास त उहाँहरूको ज्यान जोगाउन खोला छेउबाट हटाउन खोजेको हो ।’

झापाका सुकुमबासीले लालपुर्जा पाउनु पर्ने भन्दै उनले भने ‘खोलाछेउ बाहेकका सुकुमबासीको हकमा भूमि आयोगबाट लगत संकलन गरेर स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले (लालपुर्जा) दिनुपर्छ । भूमि आयोगमा राजनीतिक पार्टीको मान्छे टीका लगाएर जाने प्रवृत्ति छ । पार्टीसँग नजिक भएकाहरूले एउटा लालपुर्जा भए पनि अर्को पाउने भयो । जिन्दगीमा लालपुर्जा नभएकाले कहिले लालपुर्जा नपाउने भए । त्यो सिस्टम सुधार्नुपर्‍यो भन्ने हो,’ उनले भने ।

बालेनले प्रत्यक्ष संवादमार्फत मतदाताबाट प्राप्त सुझावलाई पार्टीको एजेन्डामा समेट्ने प्रतिबद्धता जनाएका छन्। यस्तै उनले आज झापाका अन्य ठाउँहरुमा पनि भेटघाट लाई तिव्र बनाउने रास्वपाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*