रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा प्रवेश

हेटौंडा टुडे
२०८२ फाल्गुन ११, सोमबार १०:५७ गते

हेटौंडा ।  राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका पूर्व जिल्ला सभापति भरत पराजुली नेपाली कांग्रेसमा  प्रवेश गरेका छन्। उनलाई नेपाली कांग्रेसका मन्त्री गगनकुमार थापाले सोमबार बिहान सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित कार्यक्रममा टीका, माला र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।

पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौला, युवा नेता राममणी न्यौपाने लगायतका नेताहरु पनि कांग्रेस प्रवेश गरेका छन्। रास्वपा मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका–४, स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन् । पराजुलीसहित रास्वपा मकवानपुरका नेताहरू आइतबार राति नै सर्लाही पुगेका थिए ।

करिब तीन दशक नेपाली कांग्रेसमा सक्रिय राजनीति गरेका पराजुली २०७९ साल साउनदेखि रास्वपामा आबद्ध भएका थिए। उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका थिए र १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए। कांग्रेसमा पुनः फर्किएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन्।

पार्टी परित्यागपछि पराजुलीले आफ्नो लामो राजनीतिक यात्राको उल्लेख गर्दै लेखेका छन् कि उनी विगत ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए र त्यसपछि रास्वपामा प्रवेश गरी संगठन निर्माणमा संलग्न भएका थिए।

तर समयक्रममा पार्टीभित्र विकसित भएका प्रवृत्तिहरूले आफूलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको उनले बताएका छन्। उनले आफू सधैं इमानदारी, निष्ठा र जनसेवाको भावनासहित राजनीति गरेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थ, आर्थिक प्रभाव वा व्यक्तिपूजामा आधारित राजनीतिक संस्कारसँग सहमत हुन नसकेको बताएका छन्।

पराजुलीले पार्टी स्थापना गर्दा अघि सारिएको उद्देश्य र व्यवहारबीच अन्तर देखिएपछि आत्मसम्मान र मूल्यको आधारमा अलग हुने निर्णय गरेको स्पष्ट पारेका छन्।

रास्वपामा रहँदा आफूलाई साथ दिने सम्पूर्ण नेता–कार्यकर्ताप्रति उनले आभार व्यक्त गरेका छन्। साथै, भविष्यमा पनि जनताको सेवामा समर्पित रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

उनले नेतृत्वको मूल्यांकन गर्ने शैली र व्यवहारका कारण भविष्यमा आफू र आफ्ना हितैषीहरूको उचित कदर नहुने सम्भावना देखिएको उल्लेख गर्दै जनताको हित र कार्यकर्ताको संरक्षण सुनिश्चित नहुने अवस्था देखिएपछि पार्टी छाड्ने निर्णय गरेको बताएका छन्। पराजुलीको यो निर्णयसँगै मकवानपुरको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*