एमालेलाई धक्का : मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले गरे राजीनामा घोषणा

हेटौंडा टुडे
२०८२ फाल्गुन २४, आईतवार ११:०५ गते

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि हारको जिम्मेवारी लिँदै उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

सोमबार बिहान मकवानपुर–२ को अन्तिम नतिजा सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भइसकेका छन्। यसैबीच क्षेत्र नम्बर १ मा पनि रास्वपाकै उम्मेदवार अग्रस्थानमा रहेकाले एमालेको अवस्था कमजोर बनेको छ।

परिणाम सार्वजनिक भएसँगै पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आजकै दिनदेखि लागू हुने गरी आफू जिल्ला अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो।

उहाँले प्रतिनिधिसभा निर्वाचनमा देशभर पार्टीले व्यहोरेको परिणामको गम्भीर समीक्षा हुनुपर्ने बताउँदै पार्टीभित्र व्यापक आत्मसमीक्षाको आवश्यकता औँल्याउनुभएको छ। जिल्ला अध्यक्ष पोखरेलले पार्टीको तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मआलोचना गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

पोखरेलले पार्टी अध्यक्षदेखि महासचिवसम्मले पनि पराजयको जिम्मेवारी लिनुपर्ने र आवश्यक परे पदबाट राजीनामा दिँदै पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*