हेटौंडा । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बिक्री गर्ने भएको छ। निगमले आधा सिलिण्डर ग्यासको मूल्य प्रतिगोटा ९५५ रुपैयाँमा तय गरेको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् ।
निगमले विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि आजदेखि लागु हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रतिसिलिन्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरिएको जानकारी दिएको हो।
आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ।
यसका साथै आधा सिलिन्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने निगमको दाबी छ । यो निर्णयले बजारमा देखिएको ग्यास अभाव हट्ने र उपभोक्ताले सजिलै ग्यास पाउने निगमको दाबी छ ।


















