नयाँ जनादेश सहित बिहीबारदेखि संसद् अधिवेशन सुरू हुँदै

हेटौंडा टुडे
२०८२ चैत्र १८, बुधबार १५:०९ गते

हेटौंडा । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलि (बिहीबार)देखि सुरु हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ः०० बजेका लागि आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको उक्त अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक सङ्घीय सचिवालयस्थित पूरानो भवनमा बस्नेछ । यो राष्ट्रियसभाको २०औँ अधिवेशन हो ।

विसं २०६४ मा ६०१ सदस्यीय संविधानसभा गठन भएपछि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको प्रतिनिधिसभाको अधिवेशन १८ वर्षपछि सिंहदरबारस्थित संसद् भवनमा बस्न लागेको हो । विसं २०१५ मा सम्पन्न पहिलो आमनिर्वाचनपछिका संसद् अधिवेशन सिंहदरबारस्थित पूरानो संसद् भवन (ग्यालरी बैठक)मा बस्दै आएको थियो ।

राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपति समक्ष बुझाएको थियो । निर्वाचनमार्फत जनताले रास्वपालाई मुलुकमा स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन करिब दुई तिहाइको बहुमतसहितको जनादेश दिएका छन् ।

सङ्घीय संसद् सचिवालयले दुवै सदनको बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिका हिसाबले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बैठकमा सदस्य बस्ने क्रमको निर्धारण विगतका परम्पराअनुरुप तय गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभामा सभामुखको आसनको अगाडि दाहिनेतर्फ सत्तापक्ष, बीचमा सरकार र बायाँरिर्फ प्रतिपक्ष रहने व्यवस्था मिलाइएको छ ।

उक्त व्यवस्थाअनुसार प्रतिनिधिसभामा प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलको नेताको आसन नजिकै रहनेछ । लोकतान्त्रिक संसदीय अभ्यास अपनाएका मुलुकमा संसद्लाई प्रतिपक्षको सत्ताका रूपमा लिइन्छ । यसपटक संसद्मा विगतका अधिवेशनजस्तो नभई सत्तापक्षको लहरमा मन्त्रिपरिषद्का सदस्य र रास्वपाका सांसद तथा प्रतिपक्षतर्फ एक स्वतन्त्रसहित ९३ सांसद रहनेछन् । जनताको प्रतिनिधिमूलक सर्वोच्च संस्थाका रूपमा संसद्लाई लिने गरिएको छ ।

सभामुख र उपसभामुख चयन आगामी अधिवेशनको मुख्य कार्यसूची (बिजनेस)

प्रतिनिधिसभाको पहिलो अधिवेशन भएकाले आगामी अधिवेशन सभामुख र उपसभामुख चयन मुख्य कार्यसूचीमा रहनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभा सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुख निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।

सभामुख र उपसभामुखमध्ये एक फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठकमा सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले सांसदलाई स्वागत गर्ने तथा अधिवेशन आह्वानसम्बन्धी विषयमा जानकारी दिने पहिलो कार्यसूची रहनेछ ।

सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका तथा अन्य कार्यसूची सर्वदलीय बैठकमा भएको सहमतिका आधारमा निर्धारण हुनेछ । संसद् सचिवालयले बुधबार सर्वदलीय बैठक आयोजना गरेको छ । यस अधिवेशनमा सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने सङ्घीय निजामती ऐन, प्रहरी ऐन, विद्यालय शिक्षालगायत महत्वपूर्ण विधेयक प्रस्तुत गरी पारित गर्नुपर्ने दायित्व छ ।

यही चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा ४५ दिनभित्र सङ्घीय निजामती विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने उल्लेख छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीबाट १६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्यको प्रतिनिधित्व हुन्छ ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।

लैङ्गिक प्रतिनिधित्वका हिसाबले प्रतिनिधिसभामा १७९ पुरूष र ९६ जना महिला हुनुहुन्छ । राजनीतिमा पुस्तान्तरणको माग गर्दै गत भदौमा भएको जेन-जी आन्दोलनको मर्म र भावनाअनुसार अहिलेको संसद्‌मा युवा सांसदको बाहुल्यता देखिन्छ । राष्ट्रपति पौडेलले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभाको संरचना र ‘जेनजी’ को प्रभाव
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सदस्य निर्वाचित भएका हुन्।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को १ सय ८२, नेपाली कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७, श्रम संस्कृति पार्टीको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ५ र एक स्वतन्त्र सांसद छन्।

लैङ्गिक प्रतिनिधित्वका हिसाबले नयाँ संसद्मा १७९ जना पुरुष र ९६ जना महिला सांसद छन्।

राजनीतिमा पुस्तान्तरणको माग गर्दै गत भदौमा भएको जेनजी आन्दोलनको मर्म र भावनाअनुसार अहिलेको संसद्मा युवा सांसदहरूको बाहुल्य छ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ।

संसद्का मुख्य कार्य र समितिहरू
नेपालको संविधानले संघीय संसद्का रूपमा दुई सदनात्मक व्यवस्थापिका (तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रियसभा) को व्यवस्था गरेको छ।

संघको अधिकार क्षेत्रभित्रका कानुन निर्माण गर्ने, सरकार गठन गर्ने, सरकारका नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी पारित गर्ने, संविधान संशोधन गर्ने, जनमत सङ्ग्रहको निर्णय लिने, सरकारका कामकारबाहीको निगरानी र निर्देशन गर्ने तथा अन्तर्राष्ट्रिय सन्धिसम्झौताको अनुमोदन गर्ने काम संघीय संसद्को मुख्य जिम्मेवारी हो।

हाल प्रतिनिधिसभा मातहत १० वटा विषयगत समिति छन्। जसमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्यव्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति पर्छन्।

त्यसैगरी, दुवै सदनको प्रतिनिधित्व हुने गरी संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति गरी दुईवटा संयुक्त समिति रहेका छन्।

नयाँ जनादेशसहित गठन भएको यस सभाले आवश्यक परेमा संसद्को नियमावली संशोधन र संसदीय समितिको सङ्ख्यामा हेरफेर गर्न सक्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*