हेटौंडा । चलचित्र पत्रकार संघ नेपालको दशौं महाधिवेशनबाट अध्यक्ष पदमा समीर बलामी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनको निर्वाचनमा बलामीले आफ्ना निकटतम प्रतिस्पर्धी जीवन पराजुलीलाई पराजित गर्दै नेतृत्व सम्हालेका हुन् ।
कुल १ सय ४० मत खसेको मतदानमा बलामीले ९५ मत प्राप्त गरेका थिए भने पराजुलीले ४२ मत मात्रै प्राप्त गरे ।
निर्वाचन परिणामअनुसार संगठनतर्फको उपाध्यक्ष पदमा रघुनाथ सापकोटा ७३ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नवीन गिरीले ६२ मत प्राप्त गरे । यसैगरी, महिला उपाध्यक्षमा ७५ मत ल्याएर दिपज्योति थापा विजयी भइन् भने सुस्मा कार्कीले ६२ मत पाइन् । कार्यक्रमतर्फको उपाध्यक्षमा भने लेखराज आचार्य ‘कुमार’ निर्विरोध निर्वाचित भएका छन् ।
संघको महासचिवमा गोपिकृष्ण चापागाईं ५४ मतका साथ निर्वाचित भएका छन् । उनले मनिष कार्की (४४ मत), सिपी जैसी र पवन भट्टराईलाई पछि पारेका हुन् । सचिव पदमा मदन रिजाल ९४ मतका साथ भारी बहुमतले विजयी भएका छन् भने समावेशी सचिवमा महोम्मद जलिम निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्ष पदमा मनिष अन्जान दाहाल ७४ मत ल्याएर विजयी भए भने उनकी प्रतिस्पर्धी निशा बजगाईले ६५ मत प्राप्त गरिन् । सहकोषाध्यक्षमा ६२ मतका साथ अर्जुन गुरागाई विजयी भएका छन् ।
त्यस्तै, कार्यसमितिको समावेशी सदस्यमा सोजना बिक लोहार निर्विरोध निर्वाचित भएकी छिन् । सदस्यहरूमा सुशील नेपाल, दिनेश थापा यात्री, नवीन चापागाईं, रतनबहादुर चन्द, सुवर्ण पौडेल पुजा र दिपराज क्षेत्री पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई चलचित्र क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले सफल कार्यकालको शुभकामना दिएका छन् । दोस्रो कार्यकालका लागि चुनिएका अध्यक्ष बलामीले चलचित्र पत्रकारिताको शुद्धीकरण र पत्रकारको भौतिक तथा पेशागत सुरक्षा आफ्नो प्राथमिकतामा रहने प्रतिबद्धता जनाएका छन् ।


















