ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडा टुडे
२०८३ जेष्ठ ११, सोमबार १०:३८ गते

हेटौंडा।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२, सिम्ले बजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

आइतबार बिहान अन्दाजी ७:२० बजे भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.३ ख.४९५५ नम्बरको एसीका सामग्री लोड भएको डिब्बा ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०३१ प.०५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परि मोटरसाइकल चालक गोरखा जिल्ला, गोरखा नगरपालिका-७ बस्ने २५ वर्षीय आदर्श श्रेष्ठ गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका र बोल्न नसक्ने अवस्थामा रहेका श्रेष्ठलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको थियो।

उनलाई बिहान ७:५५ बजे कलंकीस्थित नेशनल अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा बिहान ०८:२३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। अस्पतालमा मृतकका भाइ रञ्जन श्रेष्ठ समेत पुगिसकेका छन्।

आवश्यक कानुनी प्रक्रिया र मुचुल्का सकेपछि बिहान ११:३० बजे शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

घटनालगत्तै अस्थायी प्रहरी पोष्ट सिम्लेबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) केशव पौडेलको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल खटिएको थियो। घाइतेको उपचार र अस्पताल व्यवस्थापनका लागि प्रहरी जवान सुरेश थापा खटिएका थिए।

प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालक धादिङको गजुरी गाउँपालिका-६, बन्छेटार बस्ने ५५ वर्षीय पशुराम मगरलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका चालक र सवारी साधनबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*