रहिनन् ‘आजकल तेरे मेरे प्यार के चर्चा’ गायिका सुमन कल्याणपुर

हेटौंडा टुडे
२०८३ जेष्ठ १८, सोमबार १२:४७ गते

हेटौंडा । भारतीय संगीत जगतकी चर्चित तथा वरिष्ठ पार्श्वगायिका सुमन कल्याणपुरको ८९ वर्षको उमेरमा निधन भएको छ । सन् १९६० र १९७० को दशकमा आफ्नो मधुर स्वरमार्फत थुप्रै लोकप्रिय गीत गाएकी कल्याणपुरको आइतबार साँझ मुम्बईस्थित निवासमा निधन भएको हो। आइतवार साँझ मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् १९३७ जनवरी २८ मा तत्कालीन ब्रिटिस भारतको ढाका (हाल बंगलादेश) मा जन्मिएकी सुमन कल्याणपुर भारतीय फिल्म संगीतको स्वर्णिम युगकी महत्वपूर्ण गायिकामध्ये एक थिइन् ।

परिवारका अनुसार उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याबाट पीडित रहेकी कल्याणपुरले साँझ करिब ८ बजे अन्तिम श्वास लिएकी हुन् । उनी केही समयदेखि अस्वस्थ रहँदै आएकी थिइन् ।

उनको मधुर स्वर र गायन शैलीका कारण धेरै श्रोताले प्रारम्भिक दिनहरूमा उनको आवाजलाई प्रसिद्ध गायिका लता मंगेशकरको आवाजसँग तुलना गर्ने गरेका थिए । सुमन कल्याणपुरले विशेषगरी चर्चित गायक मोहम्मद रफीसँग गाएका युगल गीतहरूबाट ठूलो लोकप्रियता हासिल गरेकी थिइन् । आजकल तेरे मेरे प्यार के चर्चे, ना ना करते प्यार, तुमने पुकारा और हम चले आए, न तुम हमें जानो लगायतका गीतले उनलाई भारतीय संगीत जगतमा विशिष्ट पहिचान दिलाएका थिए ।

उनले करिब छ दशक लामो सांगीतिक यात्रामा सात सयभन्दा बढी फिल्मी तथा गैरफिल्मी गीतमा स्वर दिएकी थिइन् । भारतीय संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी थिइन् । भारत सरकारले सन् २०२३ मा उनलाई पद्मभूषणबाट सम्मानित गरेको थियो ।

उनको निधनसँगै भारतीय संगीत क्षेत्रले आफ्नो एक महत्वपूर्ण स्वर गुमाएको टिप्पणी गरिएको छ । संगीतकर्मी, कलाकार तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*