हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८, बुढीचौरका गृहिणी महिलालाई माैरीपालन तालिम सुरु गरिएकाे छ ।
मकवानपुरगढी गाउँपालिका र बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको गृहिणी महिला सशक्तीकरण परियोजना अन्तर्गत नव चेतनशील समाज नेपालको आयोजनामा एक हप्ते तालिम सुरु गरिएकाे हाे ।
२५ जेठबाट सुरु भएको तालिमको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उद्घाटन गरे । अध्यक्ष स्याङ्तानले घरधन्दा तथा खेतीपातीका काममा व्यस्त रहने गृहिणीहरुका लागि यस तालिमले उद्यमशील बनाउँन सहयोग पुर्याउने बताए । महिलाहरुको क्षमता, सीप विकास गराउँदै उनीहरुलाई स्वरोजगार बनाउने काममा पालिका लागिपरेको स्याङ्तानको भनाइ छ । यस तालिमपछि बुढीचौर क्षेत्रको चिनारी मौरी र महका लागि कायम होस् भन्ने आफ्नो चाहना रहेको उनले बताए ।
तालिम उद्घाटनमा पालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिनले आफूहरु विभिन्न सीप मुलक तालिम सञ्चालन गर्दै उद्यमशील तथा स्वरोजगार बनाउने कार्यमा लागिपरेको जानकारी दिइन् । उनले आगामी आर्थिक वर्षमा पनि गाउँपालिकाभित्र औपचारिक शिक्षा तथा अवसरबाट पछाडि परेकालाई सहयोग पुग्ने खालका कार्यक्रम ल्याइने जानकारी दिइन् ।
पालिकाको ६ नम्बर वडाध्यक्ष कृष्णप्रसाद बजगाईँ, ८ नम्बर वडाध्यक्ष कुमारसिं घिसिङ, वडा सदस्य गोकुल देवकोटाले बुढीचौरमा सञ्चालन गरिएको मौरीपालन सम्बन्धी तालिम अत्यन्त प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे । जेठ ३१ गतेसम्म सञ्चालन हुने तालिममा विगत २२ वर्षदेखि मौरी पालन व्यवसायमा संलग्न नेपाल मौरी पालक महासंघका केन्द्रीय कोषाध्यक्ष समेत रहेका जनकबाबु तिवारीले सहजीकरण गरिरहेका छन् ।






















