हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ– पुराना सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत नेताकार्यकर्ताहरु दलबलसहित अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको भन्दै राप्रपाले सबै भ्रष्टाचारका काण्डहरुमाथि पुन: र व्यापक छानबिन गर्न तथा राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन माग गरेको छ ।
निवेदन दिएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको बताए। भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी बताए।
अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको अध्यक्ष लिङदेनको भनाई छ। मन्त्रीहरु एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिष्पर्धा चलाइरहेको बताए। अध्यक्ष लिङदेनले भने, ‘अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको छ। भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी जस्तो देखिएको सन्दर्भमा अख्तियारको ध्यान आकर्षण गराउनको लागि केन्द्रिय कार्यालयमा आएर उजुरी दर्ता गराएका छौँ।



















