हेटौंडा। अत्यधिक मदिरा सेवन गर्दा झापामा दुई जनाको मृत्यु भएको छ।
एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। आज बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हो । शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबाट जानकारी पाएको छ ।
निजले कनकाईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आएका थिए।
यसैगरी, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएका हुन्। मगरको घर भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ। स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा मगरले सुङ्गुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आएका थिए। उनको सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत भेटिएका दुवै जना अत्यधिक मदिरा सेवन गर्दै आएको अनुसन्धानका क्रममा खुलेको हो । केहीदिन यता झापामा तापक्रम बढेर उच्च गर्मी भएका भन्दै बेलुका अत्यधिक मदिरा सेवन गरी सुतेका बेला दुवैको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


















