बागमतीका मुख्यमन्त्री लामाले गुमाए संसदीय दल नेताको हैसियत

हेटौंडा टुडे
२०८२ श्रावण १३, मंगलवार १३:४४ गते

हेटौंडा ।  बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकमा मतविभाजन हुँदा लामाको पक्षमा १५ मात्रै सांसद उभिएका हुन्। उता उनको विपक्षमा २२ जना सांसद उभिएका छन् ।

कांग्रेसबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछि बागमतीमा सांसद तानातान चलेको थियो । बानियाँले आफ्नो पक्षमा बहुमत सांसद जुटाएपछि लामालाई हटाउने प्रक्रिया अघि बढेको हो ।

शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये २ जना सांसद लामाको पक्षमा उभिए पनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नोतिर तान्दै २२ सांसद जुटाएका हुन् ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उनको विकल्पमा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका छन्। स‌ंसदीय दलमा लामाले विश्वास गुमाएको तथा २२ सांसद बानियाँको पक्षमा रहेकाले लामालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर बानियाँलाई सरकार हस्तान्तरण गर्न नैतिक दबाब बढेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*